किशाेर विश्वकर्मा, विराटनगर, २० माघ –कांग्रेस केन्द्रीय सदस्य अमृत अर्यालले आफ्नै अभिव्यक्तिका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वसनीयता घट्दै गएको बताएका छन्।
अब प्रधानमन्त्रीको ‘कुन चुट्किला आउला’ भनेर मात्र जनताले पर्खनु पर्ने अवस्था सिर्जना भएको बताउँदै नेता अर्यालले भने ‘एकदमै हल्का ढङ्गले आउने प्रधानमन्त्रीको अभिव्यक्तिमाथि विश्वास घट्दै गएको छ।’
रेल, पानीजहाजजस्ता विषयलाई चाहिने भन्दा बढी उचाल्ने र प्रतिपक्षीको विषयमा दिने गरेको अभिव्यक्तिका कारण प्रधानमन्त्रीको बोलीमा विश्वास घटेको नेता अर्यालको भनाई थियो।
नेपाल प्रेस युनियन मोरङको नियमित बहस श्रृङ्खला ‘नेतृत्वसँग प्रेस युनियन’ अन्तरसंवाद कार्यक्रममा आइतबार बोल्दै अर्यालले सरकारको गतिविधि हेर्दा विकासको उल्टो गतिमा अघि बढेको बताए। उनले भने ‘चुनावका बेला भएका साना गल्तिले कांग्रेस प्रतिपक्षमा पुगेको हो। तर यसो भन्दैमा सम्पूर्ण रुपमा कांग्रेस सकिएको होइन।’
नेता अर्यालले महासमिति बैठकपछि कांग्रेसको विधान संशोधन भई अब पार्टी संघीय स्वरुपमा जाँदा थप लोकतान्त्रिक बन्न पुगेको अर्यालको भनाई थियो। धेरै पदाधिकारी निर्वाचित भएर आउनुपर्ने व्यवस्थाका कारण पनि कांग्रेस अब नयाँ ढंगले अघि बढ्ने बताउँदै अर्यालले पार्टीभित्रका सानातिना विवाद क्रमशः समाधान हुँदै जाने दाबी गरे।