काठमाडौँ, २० माघ – पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वमा रहेका पूर्वपञ्जहरुका दुई पार्टीको एकताविरुद्ध राप्रपा (प्रजातान्त्रिक) कै पदाधिकारी र नेताहरु उभिएका छन्।
कमल थापा नेतृत्वको राप्रपासँग पनि एकता गर्नुपर्ने पक्षमा रहेका नेताहरूसँग लोहनी र राणाले सल्लाह नै नगरी पार्टी एकता गरी राप्रपा (संयुक्त) बनाएपछि पार्टी नेताहरू अाक्रोशित भएका हुन्।
राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) का वरिष्ठ उपाध्यक्ष दीपक बोहराले एक विज्ञप्ति जारी गरी पार्टी एकताको खबरले आफूलाई अचम्भित बनाएको बताएका छन्।
‘राप्रपा (प्रजातान्त्रिक), राप्रपा र एकीकृत राप्रपा (राष्ट्रवादी) बीच एकता गरी एक बृहत राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने पहल भइरहेको अवस्थामा राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी) बीच एकताको खबरले म अचम्भित भएको छु,’ बोहराले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
वरिष्ठ उपाध्यक्ष बोहराले पार्टी एकतालाई कार्यकर्ताहरुको भविष्यमाथि भएको खेलवाडको संज्ञा दिँदै यसमा आफ्नो सहमति नरहेको बताएका छन्।
‘यो दुई पार्टीबीचको एकता न हर्ष न विस्मातको अवस्था हो। तिनै राप्रपा पार्टीबीचको एकताले मात्र एक बृहत राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको निर्माण हुँदै एउटा बलियो राष्ट्रवादी पार्टीको रुपमा स्थापित हुन्छ भन्ने मेरो ठम्याई रहेको छ,’ बोहराले भनेका छन्, ‘तसर्थ सम्पूर्ण पार्टी नेता तथा कार्यकर्ताहरुलाई तिनै पार्टीबीच एकता नहुँदासम्म धैर्यधारण गरी बस्न हार्दिक आह्वान गर्दछु।’
उपाध्यक्ष र महामन्त्री पनि एकताको विपक्षमा
त्यसैगरी, राप्रपा (प्रजातान्त्रिक) का अरु नेताहरुले पनि लोहनी र राणाको एकतालाई अस्वीकार गरेको घोषणा गरेका छन्।
उपाध्यक्ष प्रा.डा.सुष्मा आचार्य, महामन्त्री तीर्थप्रसाद श्रेष्ठ र अर्का महामन्त्री केशवराज श्रेष्ठले जारी गरेको विज्ञप्तिमा एकीकृत राप्रपा (राष्ट्रवादी), राप्रपा (प्रजातान्त्रिक) र राप्रपाबीच एकता गरी एक बृहत राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने पहल भइरहेको अवस्थामा पार्टीभित्र कुनै छलफल नै नगरी लोहनी र राणाले पार्टी एकताको घोषणा गर्नुले संशय पैदा गरेको बताएका छन्।
‘यो दुई पार्टीबीचको एकता कुनै अर्थ र महत्व नभएकाले तीन वटै राप्रपाबीचको एकताले मात्र एक बृहत राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको निर्माण गर्दै एउटा बलियो निर्णायक राष्ट्रवादी पार्टीको रुपमा स्थापित हुन्छ भन्ने हाम्रो ठहर रहेको छ,’ तीन नेताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यसर्थ सम्पूर्ण पार्टी नेता तथा कार्यकर्ताहरुलाई तीन वटै पार्टी एकता नहुँदा सम्म आ–आफ्नो क्षेत्रबाट जोडदार पहल गर्न आह्वान गर्दछौँ।’