काठमाडौँ, २० माघ – प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति हुने दोस्रो खेलमा साबिक विजेता म्यान्चेस्टर सिटीले घरेलु मैदानमा पाँचौँ स्थानमा धकेलिएको आर्सनलको सामना गर्दै छ।
२०१५ को डिसेम्बरमा घरेलु मैदान इमिरेट्स स्टेडियमा अन्तिम पटक आर्सनलले सिटीलाई हराएको थियो। त्यसयता प्रिमियर लिगका पछिल्ला ६ खेलमा सिटीलाई हराउन नसकेको आर्सनल शीर्ष चारमा चेल्सीसँग प्रतिस्पर्धा गर्न आजको खेल जित्नै पर्ने दबाबका साथ मैदानमा उत्रिदैछ।
पछिल्ला ५ खेलमध्ये २ मा हार र ३ खेलमा जित निकालेको आर्सनल अन्तिम २ खेलमा अपराजित छ। त्यस्तै, यसअघिको खेलमा न्युक्यासलसँग पराजित भएको सिटी पुनः विजयी दौडमा फर्किन चाहन्छ।
सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले नेपाली समयअनुसार आइतबार राति सवा १० बजे हुने खेलमा आफ्नो स्टाइलमा आर्सनललाई हराउँदै लिभरपुललाई दबाब दिन चाहेको बताएका छन्। यदि आजको खेलमा जित हात पार्नसके सिटी लिग लिडर लिभरपुलभन्दा २ अंकले मात्र पछाडि रहने छ।
पछिल्लो ६ वर्षमा ३ पटक लिग जितेको सिटी यसपटक पनि उपाधि रक्षा गर्ने होडमा छ। यद्यपि २००९ मा म्यानचेस्टर युनाइटेडले अन्तिम पटक उपाधि रक्षा गरे यता अन्य क्लबले उपाधि रक्षा गर्न सकेका छैनन्।
सिटीका प्रशिक्षक ग्वार्डिओला भन्छन्, ‘ हाम्रो खेल टिभीमा हेरेर बसेका म्यानेजरहरूलाई हामी कति राम्रो छौं भन्ने हेर्न पाए भने सबैभन्दा राम्रो दबाब हुनेछ।’
शनिबार साझ भएको खेलमा न्यूक्यासललाई १–० ले हराउँदै टोटनह्याम दोस्रो स्थानमा उक्लिसकेको छ। त्यसैले, तेस्रो स्थानमा धकेलिएको सिटीलाई आफ्नो स्थानमा पुनः फर्किनका लागि आजको खेल जित्नै पर्ने दबाब छ।