एजेन्सी, २० माघ – शनिबार राति सम्पन्न खेलमा ला लिगा लिग लिडर बार्सिलोना बराबरीमा रोकिएको छ। घरेलु मैदानमा भएको खेलमा बार्सिलोना भ्यालेन्सियासँग २–२ गोलको बराबरीमा रोकिएको हो। खेलमा ३२औँ मिनेटमा २ गोलले पछाडि परेको बार्सिलोनालाई हारबाट जोगाउन दुवै गोल कप्तान मेसीले फर्काए।
खेलको २४औँ मिनेटमा केभिन गामिरोको गोलबाट भ्यालेन्सियाले शुरुआती अग्रता लिएको थियो। त्यसको ८ मिनेटपछि ३२औँ मिनेटमा डानी परेजोले पेनाल्टीमा गोल गर्दै भ्यालेन्सियाको अग्रता दोब्बर पारे।
घरेलु मैदानमा हार नजिक पुगेको बार्सिलोनाका लागि ३९औँ मिनेटमा कप्तान मेसीले पेनाल्टीमा गोल गर्दै स्कोरलाइन २–१ मा छोट्याए। गोलका लागि संघर्षरत बार्सिलोना ६४औँ मिनेटमा मेसीको व्यक्तिगत दोस्रो गोलमार्फत खेलमा फर्कियो।
यो बराबरीसँगै लिग लिडर बार्सिलोनाले २२ खेलबाट ५० अंक जोडेको छ। त्यस्तै, एक खेल कम खेलेको एट्लेटिको ४४ अंकका साथ दोस्रो स्थानमा छ।