काठमाडौं, १९ माघ –प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले माघ २१ गते बस्ने संसद बैठकमा आफ्नो पार्टीले अवरोध नगर्ने स्पष्ट पारेका छन्।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले भने, ‘सँधै संसद अवरोध हुँदैन। उहाँहरुले महिनौंसम्म अवरोध गर्नुभएको थियो। हामीले त्यत्रो गरेका छैनौँ।’
कांग्रेसले आफ्नो पार्टीका दुई जना नेता गिरिजाप्रसाद कोइराला र सुशिल कोइरालाको नाममा खोलिएको अस्पताललाई लिएरमात्रै विरोध नगरेको नेता महतले बताए। संसदबाट जबर्जस्ती विधेयक पारित गरेको विरोधमा सदन र सडकमा विरोध गरिएको महतले स्पष्ट पारे। उनले भने, ‘सभामुखले पनि विवादस्पद भूमिका खेल्नुभयो। कांग्रेसको विरोधका बाबजुद विधेयक जबरजस्ती पारित गरियो।’
उनले पछिल्लो समय महँगीले सीमा नाघेको र जताततै भ्रष्टाचार बढेको पनि आरोप लगाए। उनले भने, ‘विकास निर्माणका हजारौं आयोजनाहरु बेवारिसे भएका छन्। केन्द्रले शुरु गरेका योजनाहरु केन्द्रले नै सम्पन्न गर्नुपर्दथ्यो। होईन भने प्रदेशलाई हस्तान्तरण गर्नुपर्छ। त्यसको लागि आवश्यक बजेटको पनि व्यवस्था गरिनुपर्छ। तर, त्यो केही पनि गरिएको छैन।’
त्यस्तै उनले वार्डडबडी भ्रष्टाचार काण्डबारे पनि निष्पक्ष छानबिन हुनुपर्ने माग गरे। उनले भने, ‘यसमा दोष कसको छ? के छ? भन्ने कुरा संसदीय समितिले बाहिर ल्याएको छ। यो रिपोर्टबारे निष्पक्ष तवरले छानबिन गर्नुपर्यो।’ सरकारले अनेक हावादारी लक्ष्यहरु घोषणा गरिरहेको पनि नेता महतले आरोप लगाए।
उनले भने, ‘प्रधानमन्त्री डाबोस जानुभयो। यो अत्यन्तै राम्रो कुरा हो। त्यसमा असहमित होईन। तर, मुल कुरो के हो भने देशको अवस्था सुधार नल्याई खाली भाषणमात्रै गरेर, देश तथा विदेश घुमेरमात्रै अथवा लगानी सम्मेलन गरेरमात्रै लगानी आकर्षित हुने कुरो होईन।’
विश्व बैंकले प्रत्येक वर्ष प्रकाशित गर्ने ‘डुईङ बिजनेश रिपोर्ट’ मा नेपालको लगानीको वातावरणको अवस्था घटेको पनि उनले सुनाए। महतले भने, ‘नेपालको स्टाटस घटेको छ। उता ट्रान्सपरेन्सी ईन्टरनेशनलकाे रिपोर्टअनुसार नेपालमा भ्रष्टाचार बढेको छ।’