सोल, १९ माघ – संघीय समाजवादी फोरम नेपालको प्रवास संगठन नेपाली संघीय समाज फोरम दक्षिण कोरियाले आगामी फेब्रुअरी ५ तारिखका दिन तेस्रो महाधिवेशन गर्ने भएको छ।
‘पहिचान, समावेशी र समृद्ध राष्ट्र निर्माण संकल्प, नेपाली संघीय समाजवाद अबको निर्विकल्प’ भन्ने नाराका साथ प्रवास संगठनले अाफ्नो तेस्रो महाधिवेशन आयोजना गर्न लागेको हो।
पार्टीका केन्द्रीय उपमहासचिव प्रकाश अधिकारी र प्रतिनिधिसभाका सांसद प्रदीप यादवले महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली संघीय समाज दक्षिण कोरियाका सञ्चार विभाग प्रमुख शेर साङबो शेर्पाले बताएका छन्।
उक्त संगठनले दक्षिण कोरियाका सबै प्रान्त र क्षेत्रमा रहेका जातीय, क्षेत्रीय कमिटीहरुको अधिवेशन सम्पन्न गरिसकेको संगठनका अध्यक्ष महिन्द्र राईले बताए।
पार्टीको प्रतिनिधित्व गर्दै प्रवास समाजको यस अधिवेशनको उद्घाटन गर्नका निम्ति उपमहासचिव अधिकारी र सांसद यादवको पाँच दिने कार्यक्रम रहेको पार्टीले जानकारी दिएको छ।
यस अवधिमा अधिकारी र यादवले कोरियामा संगठन विस्तारका निम्ति बाक्लै भेटघाट र कार्यक्रमहरुमा सहभागी बन्ने जनाइएको छ।
कोरियामा क्रियाशील नेपालीहरुमाझ संगठनलाई अझ बढी मजबुत बनाउन विभिन्न प्याकेजका कार्यक्रम तय भएको सांसद यादवले बताए।
उनले भने, ‘यस अवसरमा कोरियामा काम गरेर बस्ने नेपाली युवायुवतीहरुलाई के–कस्तो समस्या परेको छ, र ती समस्या समाधानका निम्ति सरकारीस्तरबाट के–कस्ता कदमहरु चाल्नुपर्छ भन्ने सम्बन्धमा पनि व्यापक छलफल गरिने छ।’
त्यसैगरी, सोलस्थित नेपाली राजदूताबासमा पनि कार्यक्रम रहेको बताइएको छ।