काठमाडौँ, १८ माघ – राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले ३३ किलो सुन प्रकरणको फाइल प्रधानमन्त्री कार्यालयमा भएको आरोप लगाउँदै यसबारेमा प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को एकीकरण घोषणा सभालाई सम्बोधन गर्दै डा. लोहनीले उक्त प्रश्न गरेका हुन्।
उनले आजको दिन राष्ट्रवादी शक्तिहरुका लागि खुशीको दिन भएको बताउँदै राप्रपा (संयुक्त) धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको पक्षमा रहेको धारणा राखे। ‘हिन्दु धर्म हाम्रो संस्कृति हो। यसलाई बोकेर आधुनिक युगमा जान सकिन्छ भन्ने हाम्रो धारणा हो। यो पहिचानलाई हामीले कायम राख्नुपर्छ,’ उनले भने।
अध्यक्ष लोहनीले राष्पति पार्टीको प्रतिनिधिको रूपमा रहेको भन्दै मतगणना पश्चात निर्वाचन आयोगले घोषणा नै नगरि प्रधानमन्त्री घोषणा गरी पदको दुरुपयोग गरिएको र यस्ता कदमका विरुद्ध आफ्नो पार्टी लड्ने बताए।
उनले भ्रष्टाचार विकासको बाधक र नेपालको दुष्मन भएको बताए। लोहनीले भने, ‘स्थिर सरकारले सुशासन ल्याउनुपर्नेमा स्थिर कुशासन र लुटतन्त्र ल्याउन उद्धत रहेको छ। एनसेलको कर कहाँ गयो?, वाइडवडी विमान खरिद प्रकरणमा ठूला दल किन चुप? नेपालमा मार्सी चामल पुँजीवादमा समाजवाद खोजेर पाइन्छ? डा. केसी यसका विरुद्ध अनशनमा छन् सरकारले उनको मागको बेवास्ता गरेको छ।’
लोहनीले जिसस पुत्री मूनको नाममा होलीवाइन खाएर सरकारले धर्मसंस्कृति बेचेको आरोप लगाए।