काठमाडौँ, १८ माघ – राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर राणाले कम्युनिष्ट पार्टीको सरकारले भ्रष्टाचारलाई गाउँ–गाउँसम्म विकेन्द्रीत गरेको बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को एकीकरण घोषणा सभालाई सम्बोधन गर्दै राणाले उक्त कुरा बताएका हुन्।
राणाले केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको आशा र भरोसालाई निराशामा बदलेको बताए।
उनले भने, ‘सरकारको दश महिने कार्यकालको उपलब्धि शून्य छ, यो भ्रष्टहरुको सरकार हो। कम्युनिष्ट पार्टीले भ्रष्टाचार केन्द्रमा मात्र सीमित गरेको छैन, विकेन्द्रीकरण गरेर गाउँ–गाउँमा पनि पुर्याएको छ, कम्युनिष्टले चुनावमा सिंहदरबारको अधिकार गाउँमा पुर्याउछौँ भनेका थिए। तर अहिले अधिकारको सट्टा भ्रष्टाचार पुर्याए।’
डा. केसी जस्तो इमानदार मान्छेको माग पूरा नगरि उनको जीवनसँग खेलबाड गरेको बताउँदै राणाले भने, ‘सरकारले डा. केसीसँग भएको सम्झौता विपरीत चिकित्सा शिक्षा विधेयक पास गरेको छ।’
त्सस्तै राणाले यूनिभर्सल पीस फेडेरेसनबाट प्राप्त भएको होलि वाइनमा सरकार बिकिरहेको बताए। उनले ठूला पार्टीले हिन्दु राष्ट्रको पहिचान मेटेको आरोप लगाउँदै भने, ‘९४ प्रतिशत ओमकार परिवार रहेको देशमा हिन्दुराष्ट्र पुनःस्थाापना गर्न अब आफ्नो पार्टी सडकमा उत्रन्छ।’
अध्यक्ष राणाले कम्युनिष्ट सरकारले नेपालको असंलग्न परराष्ट्र नीति विपरीत भेनेजुएलाको विषयमा बोलेर सन्तुलित परराष्ट्र नीति बिगार्न खोजेको आरोप लगाए।