काठमाडौँ, १८ माघ – झन्डै डेढ वर्षअघि छुट्टिएका पशुपतिशमशेर जबरा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा राष्ट्रवादीबीच एकीकरण घोषणा कार्यक्रम शुरु भएको छ। राष्ट्रिय सभागृहमा शुक्रबार दिउँसो २ बजेबाट हुने भनिएको एकता कार्यक्रम लगभग २ः३० बजे शुरु भएको हो।
नयाँ पार्टीको प्रस्तावित नाम राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त राखिने बताइएको छ। त्यस्तै, चुनाव चिह्न हलो राख्ने सहमतिसमेत गरिएको छ।
कमल थापा नेतृत्वको राप्रपासँग पनि एकीकरणका लागि प्रयास भए पनि सहमति हुन नसकेपछि यी दुईबीच भने एकता भएको हो।
कार्यक्रम स्थलमा राप्रपा समर्थक जनताको उल्लेख्य उपस्थिति देखिएको छ।