एजेन्सी, १८ माघ – रियल मड्रिड स्पेनिस कप प्रतियोगिता कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
जिरोनाको घरेलु मैदानमा बिहीबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा घरेलु टोली जिरोनालाई ३–१ गोल अन्तरले हराउँदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो। यसअघि घरेलु मैदानमा भएको पहिलो लेगमा लिएको ४–२ गोलको अग्रतासहित समग्रमा ७–३ को फराकिलो अन्तरका साथ रियलले सेमिफाइनल यात्रा तय गरेको हो।
बिहिबार रातिको भएको खेलमा रियलका लागि फ्रेन्च फरवार्ड करिम बेन्जिमाले २ तथा मार्कोस लोरेन्टेले १ गोल गरे। खेलको २७ औँ मिनेटमा ड्यानियल कार्भाजलको पासलाई गोलमा परिणत गर्दै बेन्जिमाले रियललाई शुरुआती अग्रता दिलाएका थिए।
त्यस्तै, पहिलो हाफको खेल सकिन २ मिनेट बाँकी रहँदा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर पारे। पहिलो हाफमा २ गोलले पछाडि पर्दै प्रतियोगिताको आशा गुमाइसकेको जिरोनाका लागि पेड्रो पोर्रोले ७१ औँ मिनेटमा सान्तवना गोल गरे। त्यसको पाँच मिनेट पश्चात मार्कोस लोरेन्टेले भ्रमणकारी रियलका लागि तेस्रो गोल गर्दै जित सुनिश्चित गरे।