काठमाडौँ, १७ माघ – घरेलु टोली यूएईविरुद्धको अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेटमा डेब्यू गरेका सन्दीप जोराले कीर्तिमान बनाएका छन्। जोरा अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कम उमेरका खेलाडी बनेका हुन्।
यसअघि १६ वर्षीय राेहित पाैडेलले अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान बनाइसकेका छन्।
जोराले १७ वर्ष र १ सय ३ दिनको उमेरको विश्व कीर्तिमान बनाएका हुन्। यसअघि क्यानडियन क्रिकेट हिरल पटेलले २०१० फेब्रुअरी ३ मा भएको आयरल्याण्डविरूद्धको खेलमा १८ वर्ष १ सय ७७ दिनको उमेरमा अर्धशतक बनाएर कीर्तिमान बनाएका थिए। ९ वर्ष पश्चतात १ वर्ष ७४ दिन कान्छा जोराले कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्।
२००१ अक्टोबर २० मा कञ्चनपुरमा जन्मिएका जोराले २८ तारिखमा भएको यूएईविरूद्धको एकदिवसीय खेलमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका हुन्।
इन्टरनेशनल क्रिकेट काउन्सिलले ट्वीटमार्फत बधाइ दिएको छ। आक्रामक ब्याट्सम्यान सन्दीप जोराले ४२ बलमा अर्धशतक प्रहार गरे।
जोराले खेलमा नटआउट रहँदै ४६ बलमा ५३ रन जोडेका हुन्। आफ्नो आक्रामक शैलीलाई निरन्तरता दिँदै उनले ३ चाैका र १ छक्काको मद्दतमा कीर्तिमानी अर्धशतक बनाएका हुन्।
त्यस्तै, शनिबार भएको दोस्रो एकदिवसीय सिरिजमा ५८ बलमा ५५ रन जोडेका १६ वर्षीय राेहित पाैडेलले विश्व क्रिकेट जगतका हस्ती सचिन तेन्दुल्करको कीर्तिमान तोड्दै अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका थिए।
पौडेलले १६ वर्ष १ सय ४६ दिनको उमेरमा अर्धशतक प्रहार गरेका थिए। यसअघि पाकिस्तानविरुद्धको टेस्टमा भारतीर क्रिकेटर सचिन तेन्दुल्करले १६ वर्ष २ सय १३ दिनको उमेरमा अर्धशतक प्रहार गरेर कीर्तिमान राखेका थिए।
त्यस्तै, ओडिआईको इतिहासमा पाकिस्तानी पूर्वकप्तान शाहिद अफ्रिदीले १६ वर्ष २ सय १७ दिनकाे उमेरमा श्रीलंकाविरुद्ध खेल्दै अर्धशतक बनाएर कीर्तिमान राखेका थिए।
सन् २००२ सेप्टेम्बर २ तारिखका दिन नवलपरासी जिल्लामा जन्मिएका पौडेलले २०१५ अगस्टमा नेदरल्याण्डस् विरुद्धको खेलमा १५ वर्ष र ३ सय ३५ दिनको हुँदा डेब्यु गर्दा उनी विश्वकै चौथो कान्छो खेलाडी पनि बनेका थिए।
एकाएक चर्चाको शिखरमा पुगेका पौडेलले आइसीसीको ओडिआईतर्फको बरियतामा पर्ने कान्छा खेलाडी अफगानिस्तानका राशिद खानसँगको कीर्तिमान पनि बराबरी गरेका छन्।
https://twitter.com/ICC/status/1090947499920146433
https://twitter.com/Sakush91/status/1090956127926394880