काठमाडौँ, १७ माघ – सन्दीप जोराको आक्रामक अर्धशतकका बाबजुद युएईविरुद्धको पहिलो टी–२० क्रिकेटमा नेपाल पराजित भएको छ। रोमाञ्चक खेलमा नेपाल २१ रनले पराजित भएको हो।
युएईले दिएको १५४ रनको लक्ष्य नेपालले २० ओभर पुरै ब्याटिङ गर्दा पनि पुरा गर्न सकेन। नेपालले २० ओभर ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १३२ रन मात्र बनाउन सक्यो। युएईका लागि मोहम्मद नवीद, सुल्तान, अहम्मह र जहुर खानले समान २–२ विकेट लिए।
नेपालका लागि सन्दीप जोराले सर्वाधिक ५३ रन बनाए। आफ्नो आक्रामक शैलीलाई निरन्तरता दिँदै उनले ४२ बलमा अर्धशतक पूरा गरेका हुन्। त्यसक्रममा उनले ३ वटा चौका र एउटा छक्का प्रहार गरे।
यसअघि पहिलो बलमै ओपनर प्रदिप ऐरीलाई गुमाएको नेपालका लागि कप्तान पारस खड्का २५, उपकप्तान ज्ञानेन्द्र मल्ल ७, दीपेन्द्रसिंह ऐरी ४, रोहित कुमार पौडेल ४ र करण केसीले ४, सोमपाल कामीले २७ रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५३ रन बनाएको हो। उसका लागि शेमान अनवरले सर्वाधिक ५९ रन बनाए। मोहम्मद उस्मानले ३०, सिपी रिजवानले २२ र मोहम्मद बुटाले अविजित २० रन बनाए।
अन्य ब्याटसम्यानले दोहोरो अंक छुन सकेनन्। बलिङतर्फ नेपालका सन्दीप लामिछाने र वसन्त रेग्मीले २–२ तथा सोमपाल कामी र अविनाश बोहराले १–१ विकेट लिए।