काठमाडौँ, १७ माघ – नेपाली कामदारलाई जापान पठाउने कार्यमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय गम्भीरतापूर्वक लागेका छ। पुस महिनाको मध्यबाट मन्त्रालय एवं मन्त्री गोकर्ण बिष्ट स्वयंले यस कार्यलाई निरन्तर अघि बढाइरहेका छन्। यस क्रममा जापानी राजदूत लगायत सम्बन्धित पदाधिकारीहरुसँग पटक–पटक वार्ता गरेको मन्त्री बिष्टले बताए।
तर, यस सम्बन्धमा के–कस्ता कामहरु पूरा भए, र कति काम टुंगिन बाँकी छ भन्ने बारेमा मन्त्री बिष्टले खुलाउन चाहेनन्। उनले भने, ‘कामले पूर्णता नपाएसम्म सार्वजनिक रुपमा प्रचारप्रसार भएको जापानले नरुचाउने रहेछ, त्यसैले यस बारेमा अहिल्यै केही नभनौँ।’
यति भन्दा–भन्दै पनि मन्त्री बिष्टले जापानमा कामदार पठाउने विषयमा अझै चार–पाँच वटा बैठक हुने बताएका छन्। उनले भने, ‘यो विषयमा टुंगो लाग्न दुई महिनाजति लाग्ला।’
गत पुस १० गते विदेशी कामदारलाई आफ्नो देशमा भित्र्याउनका निम्ति जापानको मन्त्रिपरिषदले एउटा नीति नै पारित गरेको थियो। मन्त्री गोकर्ण बिष्टको निरन्तर प्रयास र आग्रहपछि जापान सरकारले नेपालदलाई पनि श्रमिक पठाउने मुलुकको सूचिमा समावेश गर्यो।
आगामी पाँच वर्षभित्र विभिन्न देशका तीन लाख ४५ कामदार भित्र्याउने जापानी नीति अन्तर्गत आगामी अप्रिल महिनाबाट नेपालबाट विभिन्न क्षेत्रमा काम गर्न पाउने गरी कामदारले जापान प्रवेश पाउन सुरु गर्नेछन्। पहिलो चरणमा स्वास्थ्य, होटल, रेष्टुरेन्ट, कृषि, उद्योग र निर्माण क्षेत्रमा नेपालबाट जापानले कामदार लैजाने छ। यी लगायत जापानले विभिन्न १४ वटा रोजगारीका क्षेत्रमा नेपालबाट श्रमिक लिने नीति बनाएको मन्त्री बिष्टले बताए।
पहिलो चरणमा प्रवेशाज्ञा पाउने कामदारले कम्तिमा पाँच वर्ष काम गर्न पाउने बताइएको छ। उच्चस्तरको दक्षता प्राप्त कामदारले इच्छाएको अवस्थामा जापानमै बसोबास गर्न पाउने व्यवस्था पनि जापानी सरकारले मिलाएको छ।
जापानका व्यावसायिक एवं औद्योगिक संस्थाहरुले सरकारसमक्ष विदेशी कामदार प्रयोग गर्न पाउनुपर्ने माग गर्दै आएका थिए। यही मागलाई सम्बोधन गर्दै जापानी सरकारले विदेशी कामदारलाई आफ्नो देशमा प्रवेश दिन लागेको हो।
नेपालबाट पनि जापानमा कामदार जान पाउने भएपछि यहाँका विभिन्न संस्थाहरु अनाधिकार रुपमा ‘जापान पठाउँछु वा हामीले जापानमा कामदार पठाउने कोटा पायौँ’ भन्दै जापान जान चाहनेहरुसँग रकमसमेत उठाउन थालेको पाइएको छ।
‘तर, सरकारले अहिलेसम्म त्यस्तो कुनै पनि निर्णय गरेको छैन। र, कसैलाई त्यस्तो अधिकार पनि दिएको छैन,’ मन्त्री बिष्टले प्रष्ट पारे, ‘जापानी भाषा पढाउने नाममा पनि यहाँ ठगी हुन थालेको हाम्रो नोटिसमा आएको छ, यसरी यो र त्यो नाममा जापान पठाउँछु भन्दै प्रलोभन दिएर रकम लिने केही संस्थालाई हामीले कारवाही समेत सुरु गरिसकेका छौँ, भविष्यमा पनि यस मामिलामा कसैले छुट पाउँदैन।’
अहिले जापानमा झण्डै ८४ हजार नेपाली बसोबास गरिरहेका छन्। यीमध्ये अधिकांश स्टुडेन्ट भिषामा जापान गएका हुन्। र, अध्ययन पूरा गरेर जापानमै काम गर्ने विद्यार्थीको संख्या प्रतिदिन बढ्दै गएको छ। स्टुडेन्ट भिसामा जापान जानेहरुले त्यहाँ हप्ताको २८ घण्टा काम गर्ने छुट पाइरहेका छन्। यसैबाट ती विद्यार्थीहरुले आफ्नो अध्ययन अघि बढाउँछन्।