एजेन्सी, १७ माघ – घरेलु टोली न्युजिल्याण्डविरुद्धको चौथो एकदिवसीय क्रिकेटमा भारतले लज्जास्पद हार व्यहोरेको छ। बिहीबार सम्पन्न खेलमा भारत न्युजिल्याण्डसंग ८ विकेटले पराजित भएको हो।
ह्यामिल्टनस्थित सेड्डोन पार्कमा भएकाे खेलमा रोहित शर्माको कप्तानीमा पहिले ब्याटिङ गरेकाे भारतीय टाेली मात्र ९२ रनमा समेटिएकाे थियो। ९२ रनको झिनो लक्ष्य पच्छ्याएकाे न्युजिल्याण्डले १४ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो।
न्युजिल्याण्डको जितमा रोस टेलरले अविजित ३७ तथा हेनरी निकोल्सले अविजित ३० रन जोडे। भारतका लागि दुवै विकेट बलर भुवनेश्वर कुमारले लिए। न्युजिल्याण्डका बलर ट्रेन्ट बोल्टका सामु भारतीय ब्याट्सम्यानहरू फितलाे साबित भए। बोल्टले १० ओभरमा ४ मेडनसहित २१ रन खर्चेर ५ विकेट लिएपछि भारतका ७ जना ब्याट्सम्यानले दोहोरो रन बनाउन सकेनन्। त्यस्तै कोलिन डी ग्राण्डहोमेले ३ विकेट लिए।
नियमित कप्तान विराट कोहलीलाई विश्राम दिइएको खेलमा भारतका लागि युजभेन्द्र चाहलले अविजित १८ रन जोडे। यस्तै हार्दिक पाण्डयले १६, कुलदिप यादवले १५ र शिखर धवनले १३ रन जोडे।
चौथो खेलमा पराजित भारतले सिरिज यसअघि नै जितिसकेको छ। अन्तिम खेल बाँकी रहँदा भारतले सिरिजमा ३-१ को अग्रता बनाएको छ। भारतले अघिल्ला ३ खेल जित्दै सिरिज आफ्नो बनाएको हो।अन्तिम एकदिवसीय खेल शनिबार हुनेछ।