एजेन्सी, १७ माघ – इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबार राति सम्पन्न खेलमा वर्नमाउथविरुद्ध चेल्सीले लज्जास्पद हार व्यहोरेको छ। वर्नमाउथको घरेलु मैदान भिटालिटी स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो।
घरेलु टोलीलाई शानदार जित दिलाउन वर्नमाउथका जोसुवा किङले २ तथा डेभिड ब्रुक्स र चार्ली ड्यानियल्सले एक–एक गोल गरे। दोश्रो हाफको ९० सेकेण्ड नबित्दै वर्नमाउथका जोसुवा किङले घरेलु टोलीलाई शुरुआती अग्रता दिलाए।
किङले काउन्टर अट्याकमा डेभिड ब्रुक्सको पासलाई गोलमा परिणत गरेका हुन्। बल पोसेसनमा हाबी रहको पाहुना टोली चेल्सीले काउन्टर अट्याकमै खेलको ६३औँ मिनेटमा दोस्रो गोल खायो। ६३औं मिनेटमा डेभिड ब्रुक्सले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए। ७४औं मिनेटमा जोसुवा किङले टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीको अग्रता ३–०मा लम्ब्याएका थिए।
खेलको अतिरिक्त समयको अन्तिम मिनेटमा हेडरमार्फत गोल गर्दै चार्ली ड्यानीयलले ४–० गोलअन्तरको जित सुनिश्चित गरे। चौथो स्थानमा चेल्सीले बल पासेसन राखेपनि वर्नमाउथको बलियो रक्षापङ्ति तोड्न नसक्दा ब्यहोरेको लज्जास्पद पराजयसँगै पाँचौ स्थानमा झरेको छ। समान २४ खेलबाट ४७ अंक जोडेपनि गोलसंख्याका आधारमा आर्सनलले चेल्सीलाई पाँचौँ स्थानमा धकेलेको हो।
बुधबार राति नै सम्पन्न अन्य खेलहरुमा लिग लिडर लिभरपुलर लेस्टर तथा साउथह्याम्टन र क्रिष्टल प्यालेस १–१ गोलको बराबरीमा रोकिँदा टोटनह्यामले वाटफोर्डविरुद्ध २–१ को संघर्षपूर्ण जित निकालेको छ।