एजेन्सी, १७ माघ – पहिलो लेगमा २-० गोलकाे नतिजा स्वीकार्न बाध्य बार्सिलोनाले दोस्रो लेगमा भने रवाफिलो पुनरागमन गर्दै कोपा डेल रेको सेमिफाइनल यात्रा तय गरेकाे छ।
बुधबार राति घरेलु मैदानमा सम्पन्न क्वाटरफाईनलको दोस्रो लेगमा सेभियालाई ६–१ गोलको फराकिलो अन्तरले निराश पार्दै बार्सिलोनाले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो।
जितका लागि कम्तिमा ३ गोलको चुनौती बोकेर मैदानमा उत्रेको बार्सिलोनालाई सस्तो जित दिलाउन फिलिपे कौटिन्होले २ गोल गरे। यस्तै कप्तान लियोनल मेसी, लुइस स्वारेज, सर्जियो रोबर्टो र इभान राकिटिचले एक–एक गोल गरे। सेभियाका गुइल्हेर्मे अरनाले एक गोल फर्काएका हुन्।
खेलको १३औँ मिनेटमा कौटिन्होको पेनाल्टीमार्फत शुरुआती अग्रता लिएको बार्सिलोनाले एकतर्फी जित निकालेको हो। खेलको २७औँ मिनेटमा पाएका पेनाल्टीलाई सेभियाका इभर बेनेगाले सदुपयोग गर्न नसक्दा बराबरीको मौका गुमाएको थियो। ३१औँ मिनेटमा राकिटिचले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए। पहिलो हाफमा २–० को अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा चार गोल थप्यो।
खेलको ५३औँ मिनेटमा कौटिन्होको व्यक्तिगत दोस्रोबाट अग्रता ३–० गोलको अग्रता लिएको बार्सिलोनाले त्यसको १ मिनेटपछि पुनः गोल गर्यो। एकतर्फी रुपमा हावी भएको बार्सिलोनाका लागि ५४औँ मिनेटमा डिफेन्डर सर्जियो रोबर्टोले गोल गर्दै बार्सिलोनाको अग्रता ४–० मा लम्ब्याए। खेलको ६७औं मिनेटमा सेभियाका गुइल्हेर्मेले सान्त्वना गोल फर्काए।
निर्धारित समयको अन्तिम २ मिनेटमा स्वारेज र मेसीले गोल गर्दै बार्सिलोनालाई ६–१ को फराकिलो जित दिलाएका हुन्। जितसँगै समग्रमा ६–३ को जित निकाल्दै बार्सिलोना सेमिफाइनलमा प्रवेश गरेको हो।