प्रणय साह, वीरगञ्ज, १६ माघ – प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले वीरगञ्जमा शहीद स्मारक पार्कको शिलान्यास गरेका छन्।
राउतले मधेश आन्दोलनमा प्रहरीको गोली लागी सहादत प्राप्त गरेका शहीदको सम्झनामा निर्माण हुने पार्कको शिलान्यास गरेका हुन्।
वीरगञ्ज महानगरपालिका–१९ घण्टाघरस्थित वीपी स्मृति उद्यानमा निर्माण हुने शहीद स्मारक पार्कको शिलान्यास गर्दै मुख्यमन्त्री लालबाबु राउतले मधेश आन्दोलनकै बलमा संघीयता र गणतन्त्र आएको बताए।
उनले यो सत्यलाई नभुल्न चेतावनी दिँदै कांग्रेस, नेकपा लगायतका दललाई जात धर्म, समुदायभन्दा माथि उठेर समयको परिर्वतनलाई स्वीकार गर्न आग्रह गरे।
भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले २०४६ सालपछिका सरकारले गर्न नसकेको काम प्रदेश सरकारले गरेको बताउँदै वीरगञ्जमा मात्रै नभएर प्रदेश सरकारले सप्तरीको मलेठ, लहान गरी तीन स्थानमा शहीदपार्क बनाउन लागेको जानकारी दिए।
सहरी विकास तथा भवन कार्यालय वीरगञ्जका प्रमुख सरोज गोइतले यस जमीनमा अन्य के–कस्ता काम गर्न सकिन्छ भनेर अहिले नक्सांकन मात्रै भएको बताए।
तत्कालिन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय पर्साले तयार पारेको नक्सा अनुसारकै शहीदपार्क बन्ने दावी गोइतले गरेका छन्।
‘प्रदेश सरकारले अहिले ७५ लाख बजेट दिएको छ, नक्सामा परिकल्पना गरिएअनुसारकै शहीदपार्क बन्छ,’ उनले भने।
कार्यक्रममा शहीद दिवसको अवसरमा पछिल्लो मधेश आन्दोलनमा ज्यान गुमाएका शहीदका परिवारहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
नेपाली कांग्रेस पर्साले मंगलबार वीपी उद्यानको जमीनलाई अन्य प्रयोजनका लागि प्रयोग गर्न नपाइने धारणा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको थियो।
शिलान्यास कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीको भने उपस्थिति थिएन।