काठमाडौँ, १६ माघ – राप्रपा अध्यक्ष कमल थापाले व्यावहारिक रुपमा शहीदका सपना पूरा गर्ने कार्य गरे मात्र राष्ट्र र राष्ट्रियताप्रति समर्पण गर्दै सहादत प्राप्त गरेका शहीदहरुप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका छन्।
राप्रपाद्वारा केन्द्रीय कार्यालय धुम्बाराहीमा शहीदहरुको सम्मान र सम्झनामा आयोजित श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्दै थापाले प्रजातन्त्र, लोकतन्त्रजस्ता शब्दहरु संविधान, कानुन तथा भाषणहरुमा प्रशस्त भएपनि यथार्थमा त्यसको आभास अझैसम्म हुन नसकेको बताएका हुन्।
शहीदहरुको सपना विपरीत लुटतन्त्र र भ्रष्टाचारले मलजल पाएको टिप्पणी गरे। दल तथा नेताहरुको अकर्मण्यताकै कारण दिनहुँजसो जबरजस्ती धर्म गराउने क्रम बढेको, हत्या, भ्रष्टाचार, हिंसा, बलात्कार जस्ता कुकृत्यले सीमा नाघ्दै गएको उनले बताए।
वीर शहीदहरुको सपनामा तुषारापात हुने हो कि भन्ने शंका पैदा भएको बताउँदै अध्यक्ष थापाले शहीदहरुको सम्मानका लागि आमजनताले परिवर्तनको महसुस गर्न सक्ने वातावरण तयार गर्न सबैमा आग्रह गरेका छन्।
राष्ट्रवादी विचार बोकेकै कारण राप्रपाका करिब २ सय जना व्यक्तित्वले सहादत प्राप्त गरेको बताउँदै थापाले कृष्णचरण श्रेष्ठ, गोपाल गिरी, राजेन्द्र श्रीवास्तव, गीतानिधी रायमाझी, हर्कबहादुर गुरुङ, क्षेत्रबहादुर केसी, रामलखन चौधरी, धनबहादुर बम, अजयराज सिंह, मनोजप्रताप मल्ल, वसन्ती, लामा, धनरुप बटाला, शारदाप्रसाद ढुंगेल, देवीजंग पाण्डे लगायतका शहीदहरुको सपना पूरा गर्न राप्रपा सदैव दृढ संकल्पित रहेको स्पष्ट पारे।
कार्यक्रममा पार्टीका नेता राजीव पराजुली, शहीद पत्नि सुन्तली ढुंगेल, महामन्त्री एवं सचिबालय प्रमुख भास्कर भद्रा लगायतले मन्तव्य राखेका थिए।