काठमाडौँ, १६ माघ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिको फोहोर सफा गर्ने काम राजनीतिज्ञकै भएको बताएका छन्।
धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशालाको घोषणा तथा सहमतिपत्रमा हस्ताक्षर समारोहमा बोल्दै उनले अबको एक दशकमा नेपालको राजनीति सफा हुने दाबी गरका हुन्।
धुर्मुस–सुन्तलीलाई देख्दा आफूलाई पनि कलाकार बन्न मन लागे पनि राजनीति निर्णायक भएको भन्दै आफू राजनीतिको फोहोर सफा गर्ने अभियानमा लागेको बताए।
उनले भने, ‘तपाईहरु हेर्दै जानुहोला अबको १ दशकभित्र नेपालको राजनीतिले सिंगो देशलाई एउटा अभियानतिर लिएर जानेछ।’
अध्यक्ष ‘प्रचण्ड’ले धुर्मुस–सुन्तलीले विश्वलाई चिनाउने नयाँ अभियानको थालनी गरेको बताउँदै खेल क्षेत्रमार्फत राष्ट्रिय एकता बलियो हुने विश्वास व्यक्त गरे।
२० बिघा ६ कठ्ठा क्षेत्रफलमा करिब ३ अर्ब लागतमा बनाइने रङ्गशाला निर्माणका लागि स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीसँग आर्थिक सहयोग जुटाइने छ। रङ्गशाला करीब ३० हजार दर्शक क्षमताको हुने जनाइएको छ। यसका लागि ६ महिनामा विस्तृत परियोजना प्रतिवेदन तयार पारि २ वर्ष भित्रमा रङ्गशाला निर्माणको काम सम्पन्न गर्ने बताइएको छ।