काठमाडौँ, १६ माघ – नेपाली कांग्रेसले आगामी माघ २१ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार पत्रकार सम्मेलनका आयोजना गरी पार्टीको केन्द्रीय कार्यसमितिको माघ १३ गते बसेको बैठकका निर्णयहरु सार्वजनिक गर्दै देशव्यापी प्रदर्शनको औपचारिक घोषणा गरेका हुन्।
हेनुहोस् प्रवक्ता शर्माद्वारा विज्ञप्तिको पूर्णपाठ
आदरणीय पत्रकार साथीहरु आज माघ १६ गते शहीद दिवस, प्रथम शहीद लखन थापा एवं शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्द लगायत पछिल्लो कालखण्डसम्मका समस्त ज्ञात–अज्ञात शहीदहरुप्रति श्रद्धा प्रकट गर्दै, यो पत्रकार सम्मेलनमा म यहाँहरुलाई हार्दिक स्वागत गर्दछु।
माघ २१ गते नेपाली कांग्रेसले राष्ट्रव्यापी विरोध प्रदर्शन गर्ने घोषणा गरेको यहाँहरुलाई विदित नै छ। जिल्लाहरुमा यस सम्बन्धी आवश्यक तयारी प्रारम्भ भइसकेको छ। विरोध प्रदर्शन आयोजना गरिनुका कारण र मुद्धाहरुबारे म थप प्रष्ट्याउन चाहन्छु।
माघ १३ गते बसेको बैठकले विरोध प्रदर्शन गर्ने निर्णय संगै मुद्धाहरु बारे निम्न निर्णय गरेको थियो।
१, संसदमा माघ ११ गते भएको बलजफ्तीको घटना, प्रधानमन्त्री स्वयंको अग्रसरतामा भएको सम्झौता विपरीत चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्य र डा. गोविन्द के।सी।को अनसनप्रति संवेदनहीन व्यवहार।
२, नेताहरु स्वर्गीय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई नामेट गर्न सरकारले गरेको दुष्प्रयास।
(सरकारले आफ्नो गल्ती सच्याएको भन्ने विवरण संचार माध्यममा आएका छन्, यस बारेमा पार्टीलाई औपचारिक जानकारी प्राप्त भएको छैन। दर्जनौं गल्तीहरु गरिसकेको सरकार तिनलाई सच्याएर अघि बढोस् भन्ने हाम्रो दबाब जारी रहनेछ।)
३, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थिति विना संवैधानिक परिषद्को बैठक राख्नु र नियुक्तिका केही निर्णय गर्नु लोकतान्त्रिक मूल्य र परम्परा विपरीतको घटना।
४, देशव्यापी रुपमा बढेको हिंसा, हत्या र बलात्कार जस्ता जघन्य अपराध नियन्त्रण गर्न सरकार असफल देखिएको छ। कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ महिना पुगी सक्दा पनि दोषी पत्ता लगाउन त परै जावस् निर्दोषलाई दोषी ठहर्याउने षडयन्त्र।
५, महंगी, भ्रष्टाचार एवं अनेकौं जनविरोधी निर्णयहरू।
६, जिल्लास्तरमा रहेका स्थानीय मुद्दाहरू।
केन्द्रीय समितिको बैठकले विरोध प्रदर्शनको मुद्दामा ‘भ्रष्टाचार’लाई विधिवत माइन्युट गरेर सार्वजनीक समेत गरिसकेको तथ्य बारे यहाँहरु जानकार हुनुहुन्छ। केन्द्रीय समितिबाट निर्णय भई हामीले उठाउँदै आएका भ्रष्टाचारका सबै मुद्दाहरु त्यसभित्र समाविष्ट छन् र रहनेछन्।
–वाइडबडी जहाज खरिदमा भएको अर्बौको घोटालाका बारे गम्भीर ढंगले गहिरो छानवीन गर्न हामीले संसदमा र सार्वजनीक रुपमा पनि आवाज उठाउदै आएका छौं। माघ २१ को विरोध प्रदर्शन मार्फत यसका लागि थप दबाब श्रृजना गरिने छ।
–नेपाल देश आफैले निर्माण गर्नु उपयुक्त हुने र गर्न सकिने ठहर गरिएको बुढीगण्डकी बहुउदेश्यीय परियोजनाबिना प्रतिश्पर्धा विदेशी कम्पनीलाई सुम्पिनुका पछिल्तिर के रहस्य लुकेको छ। माघ २१ को प्रदर्शनमा यो विषय पनि सम्मिलित रहनेछ।
–आवश्यकताभन्दा दोब्बर बढी रुख काट्ने प्रस्तावका कारण उत्पन्न विवाद अन्त्य गरी, निजगढ विमानस्थल निर्माण गर्ने प्रकृयामा ढिलासुस्तीको विषय माघ २१ को प्रदर्शनमा गरिनेछ।
–३३ किलो सुन काण्डमा ‘ठूला माछा’हरु सरिक छन् भनेर गृहमन्त्री स्वयंबाट आएको अभिव्यक्ति अनुरुपका ति ठुला माछा को हुन् र सरकार किन तिनलाई पक्राउ गरिरहेको छैन? माघ २१ को प्रदर्शनमा यो विषय पनि उठ्नेछ।
प्रदेश ५ मा प्रदेशसभा सचिवालयले ११ वटा गाडी खरिद गर्दा वास्तविक बजार मूल्यभन्दा बढी निकासा गरी गरिएको भ्रष्टाचारमा कारवाहीका लागि दबाब बढाउन आगामी प्रदर्शनमा सो विषय जोडिने छ।
संघीयता कार्यान्वयनका बाँकी कार्यभार पुरा गर्न भइरहेको ढिलाईले समग्र सत्ताको नियतमाथि नै गम्भीर प्रश्न खडा गर्नु पर्ने भएको छ। कम्युनिष्ट राजनीतिक दर्शनको प्रभाव र दबाबमा रहेर शक्तिको सम्पूर्ण केन्द्रीकरण गर्ने धङ्धङ्ती प्रधामन्त्रीमा जो देखिएको छ, विरोधमा प्रदर्शनमा यो मुद्धा समेटिने छ। संघीयताको सम्र्द्धन र रक्षाका लागि आम नागरिकलाई हामी प्रदर्शनमार्फत अपील गर्नेछौं।
विश्वप्रकाश शर्मा
प्रवक्ता, नेपाली कांग्रेस
माघ १६, २०७५