काठमाडौं, १६ माघ –पाकिस्तानको लाहोरमा जारी न्यूनदृष्टियुक्त महिला क्रिकेटको पहिलो खेलमा नेपालले घरेलु टोलीलाई हराउँदै १० विकेटले जितेको छ।
पाकिस्तानले दिएको ५४ रनको लक्ष्य नेपालले पाँच ओभरमा बिना विकेटको क्षतिमा पूरा गरेको थियो। नेपालको जितमा विनिता पुनले अविजित २८ रन जोड्दा मनाक्षी चौधरीले अविजित १९ रन जोडिन्। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ११ ओभर ३ बलमा अलआउट हुँदै ५३ रन जोडेको थियो। पाकिस्तानकी किरनले सर्वाधिक नौ तथा निम्राले अविजित छ रन जोडिन्।
खेलमा प्लेयर अफ दि म्याच नेपालकी विनिता पुन र भ्यालुएबल प्लेयर अफ दि म्याच सरिता घिमिरे घोषित भइन्। जितसँगै नेपालले पाकिस्तानविरुद्धको पाँच खेलको सिरिजमा १–० ले अग्रता बनाएको छ। अब नेपालले बिहीबार दोस्रो खेल खेल्नेछ। पाकिस्तान न्यूनदृष्टियुक्त क्रिकेट परिषद्को निमन्त्रणामा नेपाली टोली सिरिजका लागि त्यहाँ गएको हो।(रासस)