म्याग्दी। जेठ १५ गते मुस्ताङमा २२ जनाको ज्यान जाने गरी भएको दुर्घटनाका अवशेषहरू सङ्कलन गर्न थालिएको छ।
सो बेला तारा एयरको विमानमा रहेका तीन चालकदलका सदस्यसहित २२ जनाको मृत्यु भएको थियो।
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको (एनएईटी) टुईनेटर विमान हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ मा पर्ने पानीपाथी हिमालको फेदमा सानुसरे पहाडमा ठोक्किएर दुर्घटनाग्रस्त बनेको थियो।
विमानका सामग्रीहरू सोही क्षेत्रमा छरिएर रहेको अवस्थामा थिए। दुर्घटनापछि ब्ल्याक बक्स र मृतकको शव सङ्कलन गरेर लगिएको थियो। अहिले विमानका पार्टपुर्जा तथा अन्य सामग्रीहरू सङ्कलन गर्न थालिएको हो।
थासाङ गाउँपालिकाको नाउरीकोटका स्थायी बासिन्दा इन्द्रसिंह शेरचनको अगुवाइमा उक्त क्षेत्रको सामानहरू सङ्कलन कार्य थालिएको हो।
आठ जनाको टोलीले दुर्घटनाग्रस्त क्षेत्रमा पुगेर सामग्री खोज्ने र यातायातको साधन उपलब्ध हुने बोक्सीखोला क्षेत्रसम्म ल्याउने प्रयास गरिरहेको छ। शेरचनको भनाइमा उक्त क्षेत्रमा सामग्री सङ्कलन र सडक मार्गसम्म ल्याउन कम्तीमा पनि एक हप्ता लाग्नेछ।
तारा एयरका निर्देशक राप्के छिरिङ शेर्पाका अनुसार विमानलगायतका कानुनी प्रक्रिया पूरा गरेपछि सामग्रीलाई पूर्ण रूपमा व्यवस्थापन गरिनेछ।