अर्थमन्त्री विष्णु पौडेलले बजेट कार्यान्वयन हुने कुरामा बिश्वस्त रहन आग्रह गरेका छन्। अर्थ मन्त्रालयमा आइतबार एक पत्रकार सम्मेलनको आयोजना गरेर मन्त्री पौडेलले बजेट कार्यान्वयनको सन्दर्भमा शंका आवश्यक नरहेको बताए।
‘यो बजेट केबल सुनाउनका लागि होइन,’ मन्त्री पौडेलले भने, ‘कार्यान्वयन गर्नका लागि बजेटमा उल्लेख गरिएका लक्ष्य हासिल गर्नका लागि ल्याइएको हो।’ कोभिड महामारीको नियन्त्रण रोकथाम र उपचारमा नै केन्द्रित हुनुपर्ने भएकाले त्यसैअनुरुप बजेट केन्द्रित गरिएको उनले बताए। कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि प्रस्तुत गरिएका योजना कार्यक्रम कार्यान्वयन गर्ने उनले प्रतिवद्धता जाहेर गरे।
आर्थिक क्षेत्रमा देखिएका चुनौतीको सामना गर्दै अर्थतन्त्रलाई पुरानै लयमा फर्काएर अर्थतन्त्र चलायमान बनाउँदै समृद्धिको सपना साकार पार्ने प्रतिबद्धता पनि मन्त्री पौडेलले जनाए। उनले सोमबारदेखि नै बजेट कार्यान्वयनका विषयमा छलफल अघि बढाउने र कार्यान्वयनको अभियानलाई तीव्रता दिएर अघि बढ्ने बताए।
वर्तमान सरकारलाई पूर्ण बजेट ल्याउने अधिकार नएको भन्दै कामचलाउ बजेट ल्याउनुपर्ने टिप्पणी गर्नेहरुलाई उनले जवाफ पनि दिए। ‘संवैधानिक प्रबन्ध भयो भएन भनेर दुविधा राख्नुपर्ने अवस्था छैन,’ मन्त्री पौडेलले भने, ‘यो संवैधानिक प्रबन्धअनुरुप नै आएको छ। मुलुकको आर्थिक क्रियाकलापलाई निरन्तरता दिने कामबाट सरकार पन्छिनु हुँदैनथ्यो। त्यसैले पनि सरकारले बजेट ल्याउनुपर्थ्यो। अर्को विकल्प थिएन। यस्तो अवस्थामा कामचलाउ बजेट ल्याउनुपर्ने टिप्पणी उपयुक्त हुन सक्तैन।’