एकैतमासमा बग्दैन जिन्दगी, उल्झन सबैको हुन्छ 
बाँझिएका होलान् तर रहर फुल्ने, आँगन सबैको हुन्छ 
खेल्ने अधिकार छैन तिमीलाई, कसैको भावनामाथि
बगाउनलाई आँसु र दुखाउनलाई मन सबैको हुन्छ !
                      ०००
परिपक्व बन्दछ जिन्दगी, जब समस्या हजार आउँछ
चुटिए पो विवशताको हुरीमा, विवेकीको आकार आउँछ
जलपधारी धातुले हो रङ्ग फेर्ने, आँखैसामु खरानी बन्ने
सुनले त जति जल्यो आगोमा, उति झन् निखार आउँछ !
                        ०००
कहाँ मुस्काउने फूलले, कहाँ मौन बोट बन्नुपर्छ
झुक्ने हो कहाँ, कहाँनिर दरिलो अठोट बन्नुपर्छ
यही सोचुन् प्रत्येक शब्दले ओठबाट निस्कनुपूर्व
कुन मुटुलाई ओखती, कुन मुटुलाई चोट बन्नुपर्छ !
–गोंगबु, काठमाडौँ 
 
पब्लिक शनिबारको ६० सर्जकका १८० मुक्तक पढ्न फोटोमा क्लिक गर्नुहोस्
