काठमाडाैं– कार्तिक २० गते देखि झापाको विर्तामोडबाट नेपाल टेलिकमले नेपालभरका विभिन्न शहरहरुमा फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्य अभियानको रुपमा सुरु गरेको छ। मनोरञ्जनात्मक कार्यक्रम सहितको अभियानमा ठुलो मात्रामा जनसहभागिता समेत भइरहेको टेलिकमले जनाएको छ।
टेलिकमले उक्त अभियानको पहिलो चरण पोखराबाट सम्पन्न गर्ने भएको छ। बुधबार पोखराको अमरसिंह मैदानमा आयोजना हुने कार्यक्रमसँगै पहिलो अभियानको पहिलो चरण सम्पन्न हुने टेलिकमले जनाएको छ।
यस अभियान अन्तर्गत फोरजी सिम वितरण गरिनुका साथै टुजी र थ्रीजीबाट फोरजीमा स्तरोन्नतिको काम समेत भइरहेको छ। गत कार्तिक २० गते विर्तामोड, २२ गते वीरगन्ज, २४ गते भरतपुर, २६ गते नेपालगन्ज, २८ गते सुर्खेत र ३० गते महेन्द्रनगरमा अभियानको कार्यक्रम आयोजना गरिएको थियो।
कम्पनीले पूर्वको विर्तामोडदेखि पश्चिमको महेन्द्रनगरसम्म सातै प्रदेशका विभिन्न प्रमुख शहरहरुमा निःशुल्क फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्य गर्दै आएको छ। गत असोज १५ गतेदेखी देशका सातै प्रदेशमा एकैसाथ फोरजी सेवा शुभारम्भ गरेको टेलिकमले त्यसको प्रवर्धनको काम गरिहेकोे छ।
कम्पनीले हाल फोरजी सिम निःशुल्क उपलब्ध गराइरहेको छ। सिमकार्ड प्राप्त गर्न ग्राहकहरुले नेपाल सरकारले जारी गरेको परिचयपत्र, नागरिकता वा मतदाता परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको फोटोकपी र एकप्रति फोटो पेश गरी सिमकार्ड प्राप्त गर्न सक्ने टेलिकमले जनाएको छ।
फोरजी सेवा सुचारु गर्न ग्राहकले आफ्नो मोबाइलबाट *४४४# डायल गर्नु पर्ने हुन्छ। यसरी पहिलो पटक फोरजी सेवा सुचारु गर्दा ग्राहकले दुई सय एमबी डाटा वोनस स्वरुप पाउने छन्।