काठमाडौँ, १५ माघ - यस वर्षको ‘अरनिको युवा कला पुरस्कार’ युवा कलाकारद्वय समुन्द्रमानसिंह श्रेष्ठ र सुन्दर लामालाई संयुक्त रूपमा प्रदान गरिने भएको छ ।
राष्ट्रिय विभूति अरनिकोको सम्मान तथा नेपाली कलाको संरक्षण र विकासमा सहयोग पुर्याउने ध्येयले राष्ट्रिय युवा सेवा कोषद्वारा विसं २०५७ मा स्थापित सो पुरस्कारको राशि नगद रु. ५० हजार, स्वर्ण पदक तथा प्रमाणपत्र रहेको छ। नेपाली परम्परागत, आधुनिक एवं मौलिक चित्रकलाको फाँटमा निरन्तर सक्रिय रही प्रशंसनीय योगदान दिएवापत कलाकारद्वयलाई सो पुरस्कार प्रदान गर्न लागिएको कोषद्वारा मंगलबार यहाँ जारी विज्ञप्तिमा जनाइएको छ।
साथै कोषद्वारा नै विसं २०४८ मा स्थापित यस वर्षको ‘नारायणगोपाल युवा सङ्गीत पुरस्कार’ युवा गायक, सङ्गीतकार तथा लेखक अजर जङ्गमलाई अर्पण गरिने भएको छ। नेपाली लोक, आधुनिक, मौलिक तथा सुगम सङ्गीतका फाँटमा अतुलनीय योगदान पुर्याएका स्वरसम्राट स्व. नारायणगोपाल गुरुवाचार्यको स्मृतिमा स्थापित सो पुरस्कारको राशि रु. ४० हजार नगद, स्वर्णपदक तथा प्रमाणपत्र रहेको छ।
कोषका अध्यक्ष भीमबहादुर अधिकारीद्वारा जारी विज्ञप्तिमा ती पुरस्कार शहीद दिवसका दिन बुधबार वितरण गरिने जनाइएको छ।(रासस)