एजेन्सी— लेनोभोले चीनमा फाइभ जी स्मार्टफोनहरु मात्र उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ। स्मार्टफोन मेकर लेनोभोका चाइना बिजनेस डिपार्टमेन्ट जनरल म्यानेजर चेन जीनले हालै अल इन फाइभ जी स्लोगनअन्तरगत फाइभ जी स्मार्टफोन मात्र ल्याउने जानकारी दिएका हुन्।
कम्पनीले चीनमा फाइभ जी स्मार्टफोनहरु मात्र लन्च गर्ने भएपनि चीनभन्दा बाहिरको बजारमा भने अझै फोरजी सपोर्ट स्मार्टफोन उपलब्ध हुने बताएको छ। चेनले आगामी वर्षको पहिलो अर्ध वार्षिकपछि कम्पनीसँग फोरजी इन्भेन्टरी नहुने बताएका छन्।
लेनोभोले आगामी वर्ष चीनमा अहिलेको जस्तै ४०० मिलियन यूनिटको बजार हुने भन्दै त्यसमध्ये १५० मिलियन फाइभ जी ह्याण्डसेट हुने उल्लेख गरेको छ। त्यसैले आगामी वर्षपनि अझै २५० मिलियन फोरजी स्मार्टफोनको माग हुनेछ।
लेनोभोले हालै मात्र आफ्नो फाइभ जी स्मार्टफोन लेनोभो जेड सिक्स् प्रो फाइभ जी लन्च गरेको छ। कम्पनीले यसको मूल्य ३,२९९ यूआन तोकेको छ। यो स्मार्टफोनमा क्वालकम स्न्यापड्रागन ८५५ प्लस एक्स५० फाइभ जी मोडेम प्रयोग गरिएको छ।