एजेन्सी – छोटो भिडियो क्रिएटिङ तथा सेयरिङगर्ने चर्चित एप टिकटकको डाउनलोड डेढ अर्ब नाघेको छ। गुगल प्ले स्टोर र एप्पलको एप स्टोरबाट गरी सो संख्यामा टिकटक डाउनलोड भई अन्य सामाजिक सञ्जाललाई पछि पारेको छ।
यो एपको डाउनलोड संख्या गत फेब्रुअरीमा मात्रै एक अर्ब पार गरेको थियो। सेन्सर टावरले प्रकाशित गरेको रिपोर्टअनुसार ५० करोड पटक पछिल्लो नौ महिनामा मात्रै डाउनलोड भएको र कूल ६१ करोड ४० लाख पटक यस वर्षमा डाउनलोड भएको छ। यो गत वर्षको यही अवधिको तुलनामा ६ प्रतिशत बढी हो।
टिकटकको कुल डाउनलोडमा भारतबाट मात्रै ४६ करोड ६८ लाख छ। जब कि टिकटक एप बनेको देश चीनमा भने १७ करोड ३२ लाख मात्रै छ। तेश्रो स्थानमा रहेको अमेरिकामा यो एपको डाउनलोड १२ करोड ३८ लाख रहेको छ।
टिकटकभन्दा धेरै डाउलोड हुने एपहरुमा यसवर्ष केवल ह्वाट्स एप (७० करोड ७४ लाख) र म्यासेन्जर ६३ करोड २० लाख) रहेका छन्। तर, यस अवधिमा ५८ करोड ७० लाख डाउनलोड सहित फेसबुक चौथो र ३७ करोड ६२ लाख डाउनलोड सहित इन्स्टाग्राम पाँचौ स्थानमा रहे।