काठमाडौँ – काभ्रेका सुकुमान लामा छोराछोरी पढाउने सपना पालेर १५ वर्षअघि काठमाडौैँ भित्रिए। तर काठमाडौँ उनको लागि यति कठोर भइदियो कि दुख, समस्या, पीडा र सास्ती जति सबै उनकै भागमा मात्र थोपरिएजस्तो। कुलेश्वरको खोला किनारमा उनको परिवारको बास छ। श्रीमती, २ छोरी र एक छोराका अभिभावक उनी ठेलामा फलफूल बेच्छन्।
उनकी श्रीमती फोहोरमा फालिएको काटुनहरु जम्मा पार्छिन्। काठमाडौँमा उनीहरुको बाँच्ने मेलोमेसो यति हो। यही कमाइले छोराछोरी पढाइरहेको छन्। गुजारा चलाइरहेका छन्, जसोतसो। भारतमा गुजारा चलाउन धौधौ भएपछि रिनादेवी पधारको परिवार ९ वर्षअघि नेपाल आएको हो।
वर्षौदेखि कालीमाटीको विष्णुमती किनारमा अवस्थित सुकुम्बासी टोलमा उनीहरुको बसोबास छ। सुख खोज्दै नेपालतर्फ लम्किएको उनको परिवारको कदमहरु सोचेअनुसार अगाडि बढेन। बरु थप सास्ती र समस्याहरु झेलेर गुज्रँदैछ, खोला किनारको सुकुम्बासी बस्तीमा।
विष्णुमती पुलनजिक खोलाछेउको टहरामा २ छोरा र १ छोरीसहित रिनादेवीको बसोबास छ। उनका श्रीमान दिपक फोहोरमा फालिएका कवाडी सामानहरु बटुलेर बेच्छन्। त्यहीबाट आएको ४ देखि ५ सय रुपैयाँ कमाइले उनीहरुको परिवारको खर्च धानिरहेको छ। ‘पानी परेको बेला काम हुँदैन। काम नभएपछि कमाइ पनि हुने कुरा भएन,’ रिनादेवी परिवारको कहर सुनाउँछिन्। त्यस्तो बेला भोकभोकै बस्नुबाहेक उनीहरुसँग विकल्प छैन।
उनीहरुको आर्थिक अवस्था कमजोर भएकै कारण कालिमाटीस्थित निलबाराही विद्यालयले छोरा छोरीलाई निशुल्क पढाईदिएको छ। पढाईको शुल्क विद्यालयले मिनाहा गरे पनि कापी, कलम, ड्रेस, जुत्तालगायत भने आफैँ जुटाउनुपर्छ, जुन रिनादेवीको परिवारका लागि ‘दाँतबाट पसिना झार्नु’सरह हो।
बल्खुको सुन्दरीघाटमा खोला किनारकै बासिन्दा हुन्, निर्मला लामा। २० वर्षदेखि त्यहाँका बसिरहेको उनको परिवार केही दिनअघि खोलामा आएको बाढीले बिचल्लीमा परेको छ। छाप्रोभित्र पसेको बाढीले निर्मला र उनको छिमेकी परिवारका ओढ्नेओछ्याउने र भाँडाकुँडा सबै बगाइदियो। सँधैको समस्याहरु पिउने पानी, शौचालय, अनि रसदपानीको अभाव र धौधौ त छँदैछ। धन्न मान्छेलाई भने केही भएन।
परिभाषा अनुसार ‘घरबार, जायजेथा केही पनि नभएको व्यक्ति’ सकुम्बासी हो। विभिन्न सास्ती र समस्या खेप्ने नेपालका हजारौँ सुकुम्बासीमध्ये रिनादेवी, सुकुमान र निर्मलाको परिवार प्रतिनिधी मात्र हुन्। विभिन्न कारणले सुकुम्बासी बनेकाहरुको अवस्था गरिबीले ग्रस्त छ। भनिन्छ, ‘गर्दै नगरेको गल्तिको सजाय गरिबी हो।’ यस्ता गरिबीको सजाय खेपिरहेका सुकुम्बासी परिवारहरु स्वास्थ्य, शिक्षाजस्ता आधारभूत अधिकारबाट समेत बञ्चित छन्।
बर्खा लागेपछि खोला किनारमा बस्ने सुकुम्बासी परिवार त्रासमा हुन्छन्। कुन बेला बाढी आएर बगाउने हो भन्ने डरले उनीहरु रातभर निदाउन सक्दैनन्। हिउँदमा पनि सुकुम्बासीहरुलाई ‘सास फेर्ने ठाउँ’ छैन। कठ्याङ्ग्रिने चिसोले यति पिरोल्छ, उनीहरुको सास्तीपूर्ण दैनिकी वर्णन गरिसाध्य हुन्न।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सुकुम्बासी समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिकता भएको कुरा पटक–पटक बताएकी छन्। तर व्यवहारिक रुपमा भने कहिल्यै नभएको सुकुम्बासीहरुको गुनासो छ। शान्तिनगर, शंखमुल, थापाथली, कुलेश्वर, बल्खु लगायतका यस्ता दर्जनौँ सुकुुम्बासी बस्तीहरु सरकारी आश्वासन पुरा हुने पर्खाइमा छन्। राजनीतिक दलहरु पनि यसैलाई नारा बनाएर सुकुम्बासीहरुलाई ‘मृगतृष्णा’ देखाइरहन्छन्। तर सुकुम्बासी समस्या भने कहिल्यै समाधान भएको छैन। उनीहरुको अवस्थामा कति पनि सुधार भएको छैन, जस्ताको तस्तै छ।
गरिब र सुकुमबासीका लागि काम गछौँ भन्ने धेरै व्यक्ति र संस्थाहरुले आशा र आश्वासन मात्र देखाएकोप्रति उनीहरुको चित्त दुखाइ छ। केही दिनअघि खोला किनारका बस्तीहरुमा पुग्दा त्यहाँका सबैको साझा गुनासो यही थियो।
सुकुम्बासीलाई जग्गा नै दिनुपर्छ भन्ने सोचाईका कारण समस्या समाधान हुन नसकेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशी बताउँछन्। उनका अनुसार सुकुम्बासी समस्या समाधान सरकारको पहिलो प्राथमिकतामा रहे पनि राम्रो संस्थागत व्यवस्थाको अभावले अपेक्षित उपलब्धि हासिल हुन नसकेको हो।
सुकुम्बासी समस्या समाधान आयोग निस्क्रिय हुनुले पनि महत्वपूर्ण कामहरु अगाडि बढ्न नसकेको उनको बुझाइ छ। ‘कानून बनाएर अगाडि बढ्ने तयारी भइरहेको छ। मन्त्रालयले आवश्यक ऐनको मस्यौदा मन्त्रिपरिषदमा पेश गरिसकेको छ। त्यो ऐन संसदबाट पास हुनेबित्तिकै हामी एउटा छुट्टै समिति बनाएर समस्या हल गर्नेतर्फ लाग्छौँ,’ उनले भने।