काठमाडाैँ, २७ पुस – नेपाली राजनीतिमा भारतीय कर्मचारीतन्त्रको असर अहिले व्यापक देखिन्छ। नेपालको आन्तरिक राजनीतिमा भारतको चासो बढेर जानु त स्वाभाविक बन्न पुगेको छ। यतिसम्म कि, स–साना मुद्दादेखि सरकार परिवर्तनसम्म पनि भारतीयहरूकै ‘मुड’मा भर पर्छ।
आफू निकटका व्यक्तिलाई ल्याउनेदेखि हटाउने मात्रै होइन, नेपाली राजनीतिलाई उलटपुलट पार्न सक्ने हैसियत भारतलाई प्राप्त हुने वातावरण हाम्रै राजनीतिक नेतृत्वले सिर्जना गरिदिएको हो।
सरकारको नेतृत्व कसले गर्ने भन्ने डिजाइन नै दिल्लीमा बन्ने गरेको सत्य यदाकदा उजागर हुँदै आएको छ। संविधान जारी गर्ने बेलामा भारतले विशेष दूत पठाएर संविधान रोक्न गरेको प्रयास पनि नेपाली राजनीतिमा के-केसम्म गर्ने ‘सुविधा’ भारतीय कर्मचारीतन्त्रलाई छ भन्ने कुराको दरिलो प्रमाण हो।
त्यसो त नेपालको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार गर्ने पृथ्वीनारायण शाहलाई पनि भारतको भूतले निकै तर्साएको देखिन्छ। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले दिव्योपदेशमा व्यक्त गरेको विचारले पनि यसको पुष्टि गर्छ।
आधुनिक नेपाल निर्माणका सूत्राधार पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइरहँदा उनका केही भनाइबाट हाम्रो राजनीतिक नेतृत्वले पाठ सिक्नुपर्छ। दूरदर्शी थिए शाह भन्ने यसले पुष्टि गर्छ।
पृथ्वीनारायण शाहले भनेका थिए, ‘नेपाल दुई ढुङ्गाबीचकाे तरुलजस्तो रहेछ। उत्तर र दक्षिणका छिमेकिसँग बराबरको सम्बन्ध राख्नू। दक्षिणको बादशाह महाचतुर छ।’
दक्षिणको बादशाह महाचतुर छ, अर्थात् हाम्रो दक्षिणतर्फको छिमेकीको व्यवहार शाहले पनि पक्कै भोगेकाे हुनुपर्छ। अहिलेको नेपाली राजनीतिक नेतृत्वलाई पनि यो भनाइ मनन हुनसक्छ। किनभने दुईवटा ठूला देशको बीचमा रहेको हाम्रो मुलुकले कसैसँग नजिक र कसैसँग टाढाको भन्दा पनि दुवै देशसँग समदूरीको सम्बन्ध बनाउनुमै भलाइ देखिन्छ।
हामी संघीय गणतन्त्र नेपालमा छौँ। यही देशलाई फलाउनु छ, फुलाउनु छ। विकास र समृद्धिको मालाले जोड्नु छ। विगतमा को कसलाई को मन नपरेको हुनसक्छ। कसले कसलाई दुखाएको हुनसक्छ।
तर, सहयोग आदानप्रदान पनि त गरेको हुनसक्छ। त्यो सहयोग र सद्भावलाई हामीले किन बिर्सियौँ? हामी किन स्वार्थी भयौँ? हामी किन आफूबाहेक कोही पनि ठूलो देख्दैनौँ। अब पुग्यो। यो हठ र स्वार्थ त्यागौँ। सबै मिलेर मुलुकको विकासमा जुटौँ। त्यसैमा सबैको उन्रति हुनेछ।
यसको अर्थ पृथ्वीनारायण शाहको गुणवत्ता स्थापित गर्न खोजिएको नबुझौँ। हामीले इतिहासको सकारात्मक पक्षलाई एकपटक स्मरण गरे तमाम समस्या आफैं हट्छन्। यसै सन्दर्भमा पृथ्वीनारायण शाहका केही महत्वपूर्ण धारणा प्रस्तुत गरिएको छः
१, जाईकटक नगर्नू, झिकि कटक गर्नू।
२, मेरा साना दुःखले आर्ज्याको मुलुक होइन।
३, यो चार जात छत्तीस वर्णको साझा फूलबारी हो। सबैलाई चेतना भया।
४, नेपाल दुई ढुङ्गाबीचको तरुलजस्तो रहेछ। उत्तर र दक्षिणका छिमेकीसँग बराबरको सम्बन्ध राख्नू।
५, दक्षिणको बादशाह महाचतुर छ।
६, प्रजा मोटा भया मुलुक बलियो हुन्छ।
७, राज्यको सार फौज र जनता हो।
८, राजाले ठूलो नियाँ निसाफ हेर्नु, अन्याय मुलुकमा हुन नदिनू।
९, पाण्डेको ढाल र बस्नेतको तलबारले आर्जेको मुलुक।
१०, राजाले अन्याय मुलुकमा हुन नदिनु, नियाँ निसाफ बिगार्न्या भन्याको घुष दिन्या र खान्या।
११, घुष दिन्या र खान्या देशका शत्रु हुन्।
१२, विदेशीलाई तराईभन्दा उँभो आउन नदिनु यिनले मौका पाए मुलुकलाई कङ्गाल बनाई छाड्दछन्।
१३, सेनामा कज्याइँ दिँदा कालुका सन्तानलाई नछुटाउनु।
१४, ठकुरी जाँची डिट्ठा दिनू, मगर जाँची विचारी दिनू।
१५, खानी भएका ठाउँमा गाउँ भया पनि गाउँ, अरू जग्गामा सारिकन पनि खानी चलाउनू।
१६, लमजुङ भन्याको गरुड हो। गोर्खा भन्याको सर्प हो। नेपाल भन्याको भ्यागुतो हो। अघि गरुडको आँखा छलनु, तब सर्पले भ्यागुतो खान पाउँछ। मेरा साथमा चार जातका सिपाही छन्। इन्मा कस्को सवार गर्या चाँडो काज फत्य होला भनी सोद्धा के–के जात छन् भनी सोध्नुभयो। बाहुन, खस, मगर, ठकुरी। इनमा कसको सवार गर्या चाँडो काज फत्य होला भनि सोद्धा बाहुनको सवार भन्याको बयेल हो। पातक् लाग्छ, ठकुरीको सवार भन्याको सिंग हो पछाडि दगा हुन्छ। मगरको सवार भन्याको टागन् घोडा हो। ढिलो हुन्छ, खसको सवार भन्याको ताजी तुर्की घोडा हो। खसको सवार गर्या चाँडो होला भन्या जस्तो लाग्छ भनि अरु ढेरै कुराको अर्ती दिई जानुभयोथ्यो।