काठमाडौँ - स्रष्टा प्रतिष्ठान नेपाल (सप्रने)द्वारा आयोजित विशेष कविता गोष्ठी सम्पन्न भएको छ। शुक्रबार सम्पन्न उक्त गोष्ठीमा परिचयका विभिन्न आयाम बोकेका विशिष्ट व्यक्तित्वहरु र नयाँ पुस्ता अर्थात् स्थापित भैसकेको पुस्ताले आ-आफ्ना बेजोड कविता प्रस्तुत गरे।
गोष्ठीमा १ सय ४९ जना कविको उपस्थिति रहेको थियो। उपस्थितमध्ये कविहरुः मञ्जु काँचुली, विष्णुविभु घिमिरे, विप्लव प्रतीक, एसपी कोइराला, अशेष मल्ल, विश्वविमोहन श्रेष्ठ, प्रभा भट्टराई, मातृका पोखरेल, विप्लव ढकाल, डा. गीता त्रिपाठी, प्रल्हाद पोखरेल, अभय श्रेष्ठ, बाबु त्रिपाठी, बिना थिङ, अशिम सागर, नविन प्यासी, शिरिष, रसिक राज, अनुप जोशी, रिमा केसी, निशा रुम्बा, परिवर्तन देवकोटा र अश्विन समिपले कविता वाचन गरेका थिए।
२०७० साल बैशाखमा स्थापना भएको स्रष्टा प्रतिष्ठान नेपालले नेपाली कला,साहित्य र भाषाको क्षेत्रमा विविध रचानात्मक गतिविधि गर्दै आएको छ। संस्थाकी अध्यक्ष कवि अमृता स्मृतिले पुस्तान्तरणले नेपाली साहित्यमा सरलता स्थापित गरोस् र सामान्य पाठकले पनि यस्ता कार्यक्रममा आएर नेपाली कविता माथि आफ्नो धारणा बनाउन सकुन् भन्ने ध्येयले यो कार्यक्रम गरिएको बताइन्।
