काठमाडौं । जेनजी आन्दोलनको एक वर्ष पुग्दै गर्दा नेपाली कम्युनिस्ट पार्टी नेकपा का प्रवक्ता प्रकाश ज्वालाले आन्दोलनले उठाएका माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन्।
ज्वालाले सामाजिक सञ्जालमार्फत आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शहीद परिवारलाई सम्मान र उचित क्षतिपूर्ति तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न आग्रह गरेका छन्।उनका अनुसार जेनजी आन्दोलन केवल सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा सीमित थिएन। भ्रष्टाचार, कुशासनको अन्त्य, सुशासन, न्याय र अभिव्यक्ति स्वतन्त्रताका लागि युवाले आवाज उठाएका थिए।ज्वालाले आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही हुनुपर्ने बताएका छन्। साथै भ्रष्टाचारमा संलग्नहरूमाथि पनि कडा कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन्।उनले अबको राजनीतिमा युवा पुस्ताको अर्थपूर्ण सहभागिता र नेतृत्व सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै जेनजी आन्दोलनले उठाएका सुशासन र पारदर्शिताका मुद्दालाई व्यवहारमै कार्यान्वयन गर्नुपर्ने बताएका छन्।