काठमाडौँ । शिवराज नगरपालिका–२ बालापुर मिलनचोकमा अटोको ठक्करबाट तीन वर्षीय बालकको ज्यान गएको छ।
शुक्रबार हल्लानगरबाट शिवराज नगरपालिका–२ नम्बर टोलतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ह १३७८ नम्बरको अटोले सडक पार गर्ने क्रममा स्थानीय तिर्सना सेन ठकुरीका तीन वर्षीय छोरा शिवम सेन ठकुरीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।दुर्घटनामा गम्भीर घाइते भएका बालकको टाउको तथा अनुहारमा चोट लागेको थियो। उनलाई तत्काल चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पताल पुर्याइएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी अस्पताल लगिएको थियो।तर अस्पतालमा उपचारकै क्रममा चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए।घटनापछि प्रहरीले अटो चालक रूपा विकलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।