काठमाडौं । हुम्लाको सदरमुकाम सिमकोटमा खाना पकाउन प्रयोग हुने एलपी ग्यासको अभाव बढ्दै गएको छ। लामो समयदेखि नियमित आपूर्ति हुन नसक्दा सिमकोट बजारमा ग्यास पाउन उपभोक्तालाई समस्या भएको हो।
हुम्लामा ग्यास अभावको समस्या पटक–पटक देखिँदै आएको छ। जिल्लाको भौगोलिक विकटता, कठिन ढुवानी व्यवस्था र सडक तथा यातायातमा निर्भर आपूर्ति प्रणालीका कारण दैनिक उपभोग्य सामग्रीको आपूर्ति प्रभावित हुने गरेको छ।बिहीबार बिहान नेपालगन्जबाट १५० वटा भरिएका ग्यास सिलिन्डर सिमकोट पुगेका थिए। तर, ग्यास लिन २७० वटा खाली सिलिन्डर लाइनमा रहेकाले आएको परिमाण मागको तुलनामा निकै कम भएको व्यवसायीले बताएका छन्।आपूर्ति आवश्यकताभन्दा कम भएपछि सबै उपभोक्तालाई तत्काल ग्यास उपलब्ध गराउन कठिन भएको आदित्य जनरल स्टोरका सञ्चालक रेशम महतले बताए।व्यवसायीका अनुसार हुम्लामा एउटा भरिएको एलपी ग्यास सिलिन्डरको मूल्य ३ हजार २०० रुपैयाँ पर्छ। नियमित आपूर्ति हुन नसक्दा उपभोक्ताले महँगो मूल्य तिर्नुपरे पनि आवश्यक मात्रामा ग्यास पाउन नसकेको अवस्था छ।