काठमाडौं । बाढीपहिरोका कारण नागढुंगा–मुग्लिन सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रभावित हुने जोखिम बढेको छ।
सम्भावित अभाव टार्न बिहीबारदेखि दैनिक २ सय वटा ट्रकमार्फत ग्यासका सिलिन्डर ढुवानी गर्ने तयारी गरिएको छ।ठूला ग्यास बुलेट काठमाडौं भित्र्याउन सडकको अवस्था अनुकूल नभएपछि वैकल्पिक व्यवस्थाअन्तर्गत उपत्यकामा रहेका खाली सिलिन्डर तराईका ग्यास उद्योगमा पठाएर पुनः ग्यास भरी काठमाडौं ल्याइने भएको हो।नेपाल एलपी ग्यास उद्योग सङ्घ, नेपाल आयल निगम र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार उपत्यकाको आपूर्ति सहज बनाउन ट्रकहरू पूर्ण क्षमतामा परिचालन गर्न लागिएको हो।नागढुंगा–मुग्लिन सडक अवरुद्ध हुँदा उपत्यका, काभ्रे र धादिङ क्षेत्रमा रहेका १८ वटा ग्यास उद्योगमा ठूला बुलेट पुग्न सकेका छैनन्। त्यसपछि काठमाडौंका खाली सिलिन्डर ट्रकमा राखेर हेटौँडा, चितवन, नवलपरासी तथा वीरगन्ज क्षेत्रका उद्योगमा रिफिलिङका लागि पठाउने व्यवस्था गरिएको छ।
ग्यास उद्योग सङ्घका अध्यक्ष दिवानबहादुर चन्दका अनुसार दैनिक करिब १ सय ट्रकले खाली सिलिन्डर तराईतर्फ लैजाने र अर्को १ सय ट्रकले भरिएका सिलिन्डर काठमाडौं ल्याउनेछन्। केही ट्रकले बुधबारदेखि नै ढुवानी सुरु गरिसकेका छन् भने बिहीबारदेखि संख्या बढाएर २ सय पुर्याउने तयारी छ।ठूला बुलेट सञ्चालनका लागि वैकल्पिक सडकको अवस्थाबारे गरिएको अध्ययनमा कान्ति लोकपथ र त्रिभुवन राजपथ साँघुरो तथा जोखिमयुक्त देखिएपछि बुलेटबाट तराईमै ग्यास अनलोड गर्ने र करिब १५ टन क्षमताका साना तथा मध्यम ट्रकबाट उपत्यकातर्फ ढुवानी गर्ने निर्णय गरिएको हो।वैकल्पिक सडकमा ग्यास बोकेका ट्रकलाई सहज रूपमा आवतजावत गराउन स्थानीय प्रशासन, सडक डिभिजन र सुरक्षा निकायले आवश्यक सहजीकरण गर्ने सहमति गरेका छन्।ग्यास ढुवानीका क्रममा मनपरी भाडा असुली तथा कालोबजारी हुन नदिन सम्बन्धित निकायले निश्चित भाडादर तोकेका छन्। हेटौँडाबाट काठमाडौंसम्म खाली सिलिन्डर लैजाने र भरिएको सिलिन्डर ल्याउने गरी १२ चक्के ट्रकको दुईतर्फी भाडा ८० हजार रुपैयाँ निर्धारण गरिएको छ।
त्यसैगरी चितवनबाट ९३ हजार, वीरगन्जरकलैयाबाट ९५ हजार तथा नवलपुरबाट ९८ हजार रुपैयाँ भाडा तोकिएको छ। निर्धारित भाडाले ढुवानीमा हुने मनपरी नियन्त्रण गर्दै बजारमा कृत्रिम अभाव र मूल्यवृद्धि रोक्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।नेपाल आयल निगमले विपद्को अवस्थामा घरायसी उपभोक्ताको आवश्यकतालाई पहिलो प्राथमिकता दिने जनाएको छ। नयाँ व्यवस्थाअनुसार ट्रकबाट काठमाडौं ल्याइने ग्यास मुख्यतः सर्वसाधारणका लागि वितरण गरिनेछ।होटल तथा रेस्टुरेन्टजस्ता व्यावसायिक उपभोक्ताले भने तत्कालका लागि तराईमा रहेका सम्बन्धित ग्यास उद्योगबाट आफ्नै व्यवस्थामा ढुवानी गरी ग्यास ल्याउनुपर्ने व्यवस्था गरिएको छ।दैनिक २ सय ट्रक पूर्ण क्षमतामा परिचालन भएपछि उपत्यकामा देखिन सक्ने ग्यास अभाव र उपभोक्तामा बढेको त्रास कम हुने उद्योगीहरूको अपेक्षा छ।