काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ भोटेकोसी बाढीबाट प्रभावित जलविद्युत् आयोजना तथा उद्धार कार्यको स्थलगत निरीक्षणमा जाने भएका छन्।
मन्त्री श्रेष्ठ सोमबार बिहान नुवाकोट हुँदै रसुवा पुग्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। स्थलमार्गबाट नुवाकोट पुगेपछि उनले बाढी प्रभावित क्षेत्रको उद्धार तथा राहतको अवस्थाबारे जानकारी लिनेछन्।विद्युत् सेवा अवरुद्ध भएका क्षेत्रमा वैकल्पिक ऊर्जाका रूपमा सौर्य प्रणाली प्रयोग गर्ने सम्भावनाबारे पनि सम्बन्धित पक्षसँग छलफल गर्ने तयारी छ। मन्त्री श्रेष्ठले त्रिशूलीको बट्टास्थित क्याम्पको समेत निरीक्षण गर्नेछन्।त्यसपछि हेलिकप्टरमार्फत रसुवा पुगेर उनले बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा भइरहेको उद्धार कार्यको अवस्था बुझ्नेछन्। निरीक्षणका क्रममा उद्धारमा देखिएका चुनौती, आयोजनामा भएको क्षति तथा थप आवश्यकताबारे जानकारी लिने कार्यक्रम छ।रसुवाबाट फर्किएपछि मन्त्री श्रेष्ठ नुवाकोटस्थित नेपाली सेनाको एकीकृत उद्धार शिविर पुग्नेछन्। त्यहाँ उनले उद्धार तथा राहत व्यवस्थापनबारे जानकारी लिनेछन्।मन्त्री श्रेष्ठले सुरुङभित्र फसेका कर्मचारीका परिवारसँग पनि भेट गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ। साथै, नुवाकोटमै नेपाल विद्युत् प्राधिकरणका अधिकारी तथा प्राविधिक टोलीसँग छलफल गरी आवश्यक सहजीकरण र निर्देशन दिने तयारी छ।