काठमाडौं । काठमाडौंको शंखमुलमा २२ वर्षीय वसन्त कालाखेतीको हत्या भएको खबर सुनेपछि दाङमा उनकी आमाले आत्महत्या गरेकी छन्।
शुक्रबार काठमाडौं महानगरपालिका–१० शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा बस्दै आएका वसन्तमाथि दुईजनाले धारिलो हतियार प्रहार गरेका थिए। गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।वसन्त दाङको घोराही उपमहानगरपालिका–१७ का स्थानीय हुन्। उनी फ्रान्स जाने तयारीमा काठमाडौंमा बसेर फ्रेन्च भाषा अध्ययन गरिरहेका थिए।छोराको हत्या भएको खबर पाएपछि दाङमा उनकी ३८ वर्षीया आमा बिना कालाथोकीले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डा। हेम केसीले जानकारी दिए। उनका अनुसार बिना सिलिङ फ्यानमा झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन्।उनको शव पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। वसन्तका बुबा वैदेशिक रोजगारीका सिलसिलामा खाडी मुलुकमा रहेको प्रहरीले जनाएको छ।वसन्तको हत्या आरोपमा प्रहरीले बाराको कलैया उपमहानगरपालिका–३ का प्रमित पटेल र सोही ठाउँका शेखर यादवलाई पक्राउ गरेको छ।घटनाबारे प्रहरी वृत्त नयाँ बानेश्वरले थप अनुसन्धान गरिरहेको जनाएको छ।