भक्तपुर । भक्तपुरमा खाना पकाउने एलपी ग्यास तोकिएकोभन्दा अत्यधिक बढी मूल्यमा बिक्री गरी कालोबजारी गरेको आरोपमा एक किराना पसल सञ्चालक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–२, दुवाकोट बारुदखाना चोकस्थित किराना पसलका सञ्चालक ५७ वर्षीय तुलसीराम त्वयना रहेका छन्।
उक्त पसलबाट ग्यासको कालोबजारी भइरहेको विशेष सूचनाका आधारमा प्रहरी टोलीले चेकजाँच तथा अनुगमन गरेको थियो। अनुगमनका क्रममा सञ्चालक त्वयनाले उपभोक्ताबाट प्रतिसिलिन्डर ७ हजार रुपैयाँसम्म असुल गरी ग्यास बिक्री वितरण गरिरहेको पाइएको प्रहरीले जनाएको छ।
प्रहरीले पसलबाट ३ थान ग्यास सिलिन्डर बरामद गर्नुका साथै बिक्रीमा संलग्न त्वयनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका उनमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार कार्कीले जानकारी दिए।