काठमाडौँ । सामाजिक सञ्जाल प्रयोगसम्बन्धी नीतिको उल्लंघन गर्ने ५ सय ९९ जना प्रहरी कर्मचारीलाई विभागीय कारवाही गरिएको छ । आर्थिक वर्ष २०७७-०७८ देखि हालसम्म फेसबुक, एक्स (ट्विटर), टिकटकलगायत विभिन्न सामाजिक सञ्जालमार्फत संगठनविरुद्ध अमर्यादित टिप्पणी गर्ने, गैर व्यावसायिक सामग्री पोस्ट गर्ने तथा प्रहरी पोसाक र हैसियतको दुरुपयोग गर्ने कर्मचारी नेपाल प्रहरीले कारवाही गरेको हो ।
कारवाहीमा पर्ने प्रहरी संगठनका उच्च तहदेखि तल्लो तहसम्मका कर्मचारी रहेका प्रहरी प्रधान कार्यालयले जनाएको हो । कार्यालयका अनुसार कारवाही सूचीमा एक जना प्रहरी नायब महानिरीक्षक (डिआइजी), एक जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), चार जना प्रहरी उपरीक्षक (एसपी), ५ जना प्रहरी नायब उपरीक्षक (डीएसपी), २४ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) रहेका छन् ।
यस्तै ११ जना प्रहरी वरिष्ठ नायब निरीक्षक अर्थात् वरिष्ठ सई, २४ जना प्रहरी नायब निरीक्षक (सई), ५१ जना प्रहरी सहायक निरीक्षक (असई), ७ जना प्रहरी वरिष्ठ हवल्दार, ३५ जना प्रहरी हवल्दार, ७६ जना सहायक हवल्दार, ३ सय ५८ जना प्रहरी जवान तथा २ जना प्रहरी कार्यालय सहयोगी रहेका छन् ।
उनीहरूलाई संगठनको नीति र आचारसंहिता विपरीत कार्य गरेको ठहर गर्दै सख्त चेतावनी, नसिहतदेखि बढुवा रोक्कासम्मका कारवाही गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी संगठनको मर्यादा र व्यावसायिक छवि जोगाउन यस्ता कारवाही अपरिहार्य भएको जनाइएको छ ।