काठमाडौं । केही महिनादेखि सेवामा उपस्थिति नभएका कर्मचारीलाई नेपाल प्रहरीले हाजिर हुन निर्देशन दिएको छ । नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालले बुधबार सूचना जारी गरेको हो । सूचना जारी भएको मितिदेखि ७ दिनभित्र गैरहाजिर हुनुको कारणसहित स्पष्टीकरण जवाफ लिएर उपस्थिति हुन भनिएको छ ।
‘प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम ११३ उपनियम (१) खण्ड (च) को कसुरमा ऐ नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने कारबाही भइजाने हुँदा प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को अनुसूची १४ को भाग (४) प्रयोजनार्थ यसै सामूहिक सूचनाद्वारा तपाईंहरूलाई सफाइको मौका प्रदान गरिएको जानकारी गराइन्छ,’ सूचनामा उल्लेख छ ।
गत साउन २९ गतेदेखि हाजिरी नभएका विभिन्न प्रहरी कर्मचारीलाई उपस्थित हुन भनिएको छ । अन्यथा यहीँ सूचनालाई आधार मानेर सेवा अवधिबाटसमेत हटाइने उल्लेख गरिएको छ । सूचनाका अनुसार २७ जना प्रहरी कर्मचारी साउनदेखि उपस्थित रहेका छैनन् ।

