काठमाडौँ । नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुन केहि दिन बाँकी रहँदा प्रहरी महानिरीक्षक (आईजीपी) का लागि अतिरिक्त महानिरीक्षक (एआईजी) दान बहादुर कार्की प्रमुख दाबेदार मानिएका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङ १७ कार्तिकदेखि अनिवार्य अवकाशमा जाँदै छन्।
यससँगै ३३औं आईजीपीको नेतृत्व प्रतिस्पर्धा सुरु भइसकेको छ, जहाँ एआईजी पदमा सिफारिस भएका चार अधिकारीहरूबीच प्रतिस्पर्धा हुनेछ । त्यस प्रतिस्पर्धामा एआईजी सूचीको पहिलो नम्बरमा रहेका दान बहादुर कार्कीलाई संगठनभित्र र बाहिर दुबै स्थानबाट योग्य, इमानदार र अनुभवसिद्ध उम्मेदवारका रूपमा हेरिएको छ ।
नेपाल प्रहरी केवल कानून कार्यान्वयन गर्ने संस्था मात्र होइन, राष्ट्रको शान्ति, सुरक्षा र जनविश्वासको मेरुदण्ड हो। यही संस्थालाई इमान, निष्ठा र दक्षताका साथ तीन दशक नजिक पु¥याउँदै आएका एआईजी कार्र्की हाल काठमाडौँ उपत्यका प्रहरी कार्यालयका कमाण्डरका रूपमा कुशलतापूर्वक कार्यरत छन् ।
प्रहरी संगठनमा २८ वर्ष लामो सेवायात्रा पूरा गर्न नजिक पुगेका कार्कीले आफ्नो कार्यकुशलता, व्यावसायिकता र बौद्धिक नेतृत्वका माध्यमबाट संगठनभित्र विशेष पहिचान बनाउन सफल भएका छन्। कार्कीको बाल्यकाल गुल्मीको मालिका गाउँपालिका–७ मा बित्यो। सादगी, अनुशासन र जिम्मेवारी उनको जीवनका अभिन्न अंश हुन् । सानै उमेरदेखि परिवार र समाजप्रतिको कर्तव्यबोधले उनलाई अनुशासन र आत्मनिर्भरताको बाटोमा अग्रसर बनायो।
शैक्षिक रूपमा पनि उनी सदैव अग्रस्थानमा रहे। गुल्मीको खन्जडमा प्रारम्भिक शिक्षा लिएपछि उनी ललितपुरमा होस्टेलमा बसेर माध्यमिक तहसम्म अध्ययन गरे। त्यसपछि ल क्याम्पस र आरआर क्याम्पसबाट स्नातक अध्ययन पूरा गरे। उनको विद्यालय जीवन वक्तृत्व, खेलकुद र सांस्कृतिक गतिविधिमा अत्यन्त सक्रिय रह्यो, जसले उनको नेतृत्व र आत्मविश्वासको आधार निर्माण ग¥यो।
कार्की सानैदेखि “सरकारी सेवामार्फत देशको सेवा गर्ने” सोचले अघि बढेका थिए। प्रारम्भमा कूटनीतिक सेवाको तयारी गरिरहेका उनी, प्रहरीतर्फ दरखास्त खुलेपछि साथीहरूको सुझावमा आवेदन दिए — र लोकसेवा आयोगमार्फत २०५४ चैत १८ मा प्रहरी निरीक्षक पदमा नियुक्त भए।
त्यो समय देश द्वन्द्वग्रस्त थियो, जसले प्रहरी सेवाको जिम्मेवारी झनै संवेदनशील बनाएको थियो। सुरुवाती तलब ४ हजार रुपैयाँ मात्र भए पनि, देशप्रेम र सेवाभावले उनले कहिल्यै हार मानेनन्। आज उनी प्रहरी निरीक्षकदेखि एआईजीसम्मको प्रेरणादायी यात्रा पूरा गर्दै भविष्यका प्रहरी नेतृत्वका प्रमुख दाबेदार बनेका छन्।
कार्की डिएसपी हुँदा उनले बानेश्वर क्षेत्रका प्रमुखका रूपमा शान्ति–सुरक्षामा उल्लेखनीय सफलता देखाए र चर्चाको शिखरमा आएका थिए । एसपी भएपछि कपिलवस्तु र कास्कीका प्रमुखका रूपमा अपराध नियन्त्रण र सामुदायिक प्रहरी प्रणालीमा नयाँ दृष्टिकोण ल्याए। साथै एसएसपी हुँदा काठमाडौँ प्रहरी प्रमुखका रूपमा राजधानीको सुरक्षा सञ्जाललाई प्रविधिमुखी र जनकेन्द्रित बनाए।अनि डीआईजी हुँदा उनले केन्द्रीय प्रवक्ताका रूपमा प्रहरीका जनसरोकारका विषयहरू तथ्यगत, पारदर्शी र जिम्मेवार ढङ्गले सञ्चारमाध्यममा प्रस्तुत गरे। यसका साथै लुम्बिनी प्रदेश प्रहरी प्रमुखका रूपमा उनले संगठनलाई अनुशासन, दक्षता र जवाफदेहिताको दिशामा उचाइमा पु¥याए।
हाल काठमाडौँ उपत्यका प्रहरी कमाण्डको जिम्मेवारी सम्हाल्दै, उपत्यकामा हुने अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन र नागरिक–प्रहरी सहकार्यमा उल्लेखनीय सुधार ल्याइरहेका छन्। जेनजी आन्दोलनपछि प्रहरीले सामना गरेको चुनौती र आलोचनाका कारण प्रहरीको मनोबल खस्किएको थियो। यस परिस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दान बहादुर कार्कीले प्रहरी जवान र अधिकृतहरूको मनोबल उच्च बनाउन विशेष पहल सुरु गरेका छन्। उनले प्रशिक्षण, समन्वय, र मनोबल अभिवृद्धि कार्यक्रमहरूलाई जोड दिएका छन्।