नेपालगन्ज । कर्तव्य पालनकै क्रममा नेपाल प्रहरीका नायब निरीक्षक (सई) धनबहादुर थापाको निधन भएको छ। जिल्ला प्रहरी कार्यालय बर्दिया दरबन्दी भई हाल वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत रहेका सई थापाको शनिबार बिहान नेपालगन्ज बजार क्षेत्रमा ड्युटीका क्रममा हृदयघात भएर निधन भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
ड्युटीमा खटिएका बेला एक्कासी हृदयघात भएपछि सई थापा ढलेका थिए। तत्कालै उनलाई अस्पताल पुर्याइए पनि चिकित्सकहरूले मृत घोषित गरेका थिए। मिलनसार र कर्तव्यनिष्ठ प्रहरी अधिकारीका रूपमा परिचित थापा रोल्पाका स्थायीवासी भएको बाँके प्रहरीले जनाएको छ।