काठमाडौं । नेपाल प्रहरीका पूर्वडीएसपी गोबिन्द पन्थीले १३ जना प्रहरीलाई गैरकानुनी नजरबन्दमा राखिएको खुलासा गरेका छन् । प्रहरी संगठनमै मानवअधिकार उल्लंघन भइरहेको भन्दै सामाजिक सञ्जालमार्फत उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन शाखाले १३ जना प्रहरी कर्मचारीलाई एक नम्बर गणभित्र ‘एरिया हद’ तोकेर लामो समयदेखि नजरबन्दमा राखेको उनले खुलासा गरे । जसमा कतिपय एक वर्षभन्दा बढी समयदेखि गैरकानुनी रूपमा कैद जस्तै अवस्थामा छन् ।
उनका अनुसार केहीलाई त करिब एक वर्षभन्दा बढी समयदेखि ‘एरिया हद’ ९नजरबन्द० तोकेर राखिएको छ, जुन प्रजातान्त्रिक शासन प्रणालीमा अस्वीकार्य कार्य हो। “३० वर्षसम्म सेवा गरेको संगठन आफैं कानुन कार्यान्वयन गर्ने निकाय हो, तर त्यही संस्थाले आफ्नै कर्मचारीलाई कानुनी प्रक्रिया पन्छाएर यसरी कैदजस्तै राख्नु मन खिन्न पार्ने कुरा हो,” पन्थीले भने।
पूर्व प्रहरी अफिसर पन्थीले बिगतमा आफैँलाई पनि भारतिय नागरिकद्वारा एक महिलालाई मन्त्री क्वाटर अगाडि नै बन्धक बनाएको घटनामा कानुनी कारबाही गर्दा उल्टै १४ दिन नजरबन्दमा राखिएको पीडा सुनाउँदै, अहिलेका तल्लो दर्जाका प्रहरी कर्मचारी पनि उस्तै अन्यायको शिकार भएको बताए।
“यदि ती कर्मचारीले गल्ती गरेका थिए भने कानुनअनुसार सजाय दिन सकिन्थ्यो, भ्रस्टाचारमा मुछिएका थिए भने अख्तियारमा पठाउन सकिन्थ्यो, अनुशासन उल्लंघन गरेका थिए भने प्रहरी नियमावलीअनुसार कारबाही गर्न सकिन्थ्यो। तर कानुनी प्रक्रिया पन्छाएर लामो समयसम्म बन्धनमा राख्नु अमानवीय व्यवहार हो,” लेखेका छन् ।