काठमाडौँ । जिल्ला प्रहरी परिसर, काठमाडौँले करिब २० प्रतिशत जनशक्ति अभावकाबिच गत आर्थिक वर्षमा एक हजारभन्दा बढी विरोध प्रदर्शन तथा राजनीतिक कार्यक्रमको सुरक्षा व्यवस्थापन गरेको जनाएको छ ।
परिसरले आफ्नो वार्षिक कार्यसम्पादन सार्वजनिक गर्न बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौँ प्रहरी प्रमुख एसएसपी बिश्व अधिकारीले सीमित स्रोतसाधन र जनशक्तिका बाबजुद शान्ति सुरक्षा कायम गर्न प्रहरी अहोरात्र खटिएको जानकारी दिए ।
उनका अनुसार काठमाडौँ प्रहरीका लागि स्वीकृत ४ हजार १६ दरबन्दीमध्ये हाल ३ हजार २३३ जना मात्र कार्यरत छन् । जुन ८१५ जनाको प्रत्यक्ष अभाव हो ।गत आर्थिक वर्षमा मात्रै काठमाडौँमा १ हजार १८ वटा राजनीतिक तथा अन्य प्रकृतिका विरोधका कार्यक्रमहरू भएका थिए । जसमा ३ लाख ८६ हजारभन्दा बढी प्रहरी परिचालन भएको उनले जानकारी दिए ।
यीमध्ये ४४४ वटा धर्ना र ३७२ वटा विरोध प्रदर्शन थिए। प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्ष काठमाडौँमा २ हजार ७२२ वटा आगलागीका घटना भए। तीमध्ये १ हजार ८७६ वटा घटना (करिब ६९ प्रतिशत) बिजुलीको पोलमा तार सर्ट भएर भएको थियो । चुनौतीकाबिच प्रहरीले प्रविधिको प्रयोग बढाउँदै लगेको छ। प्रहरीको हटलाइन ‘१००’ मा गत वर्ष ४ लाख २८ हजारभन्दा बढी कल आएको थियो।