काठमाडौँ । नेपाल प्रहरीको भावी नेतृत्वको लडाई सुरु भएको छ। आगामी महिना नेपाल प्रहरीका प्रमुखले अवकाश पाउँदैछन् । नेपाल प्रहरीका आईजीपी दीपक थापाले ३० वर्षे सेवा हदका कारण १८ भदौमा अवकाश पाउनेछन् । अब उनको कार्यकाल एक महिनाभन्दा कम छ।
उनको अवकाशपछि एआइजी चन्द्रकुबेर खापुङ आईजीपीका मुख्य दाबेदार हुन्। थापाको अवकाश मिति नजिकिँदै गर्दा एक महिनापछि नयाँ आईजीपीका लागि गृहकार्य सुरु भइसकेको छ । खापुङ प्रधानमन्त्री केपी शर्मा ओलीको पुर्खौली जिल्ला तेह्रथुमका छिमेकी हुन् । उनको एमाले नेताहरूसँग राम्रो सम्बन्ध छ । त्यस कारण दुई महिनाका लागि भए पनि उनी आईजीपी हुने सम्भावना छ ।
पछिल्लो समय काँग्रेसका नेताहरूसँग पनि उनी सम्बन्ध विस्तारमा लागेका छन् । सिआइबीको प्रमुख भएकाले पनि उनलाई सम्बन्ध विस्तारमा सहज भएको छ । त्यसपछि भने साढे दुई वर्षका लागि आईजीपी चयन हुने भएकाले चर्को प्रतिस्पर्धा छ । जसमा दानबहादुर कार्की, राजन अधिकारी, मनोज केसी र सिद्धिविक्रम शाहबिच मुख्य प्रतिस्पर्धा छ। उनीहरूमध्ये कार्की र शाहलाई मुख्य दाबेदार मानिएको छ ।