कञ्चनपुर । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज)बाट विस्थापित परिवारहरु आधारभूत आवश्यकताबाट वञ्चित छन् । विसंं २०६४ देखि छाप्रा बनाएर यहाँ बसोबास गरिरहेका ६०४ परिवारले आधारभूत आवश्यकताबाट वञ्चित हुनुपरेको गुनासो गरेका छन् ।
निकुञ्जको ढक्का शिविरमा बस्दै आएका उनिहरुले अँध्यारोमा बस्न बाध्य भएको बताएका छन् । निकुञ्जले सो क्षेत्रमा सोलार समेत लगाउन नदिँदा मोबाइल र टर्च चार्ज गर्न अर्को गाउँ जानुपर्ने र त्यहाँ मोबाइल र टर्च चार्ज गरेको दश/दश रुपैयाँ तिनपरेको ढक्का शिविरका रामदास चौधरीले बताएका छन् । उनका अनुसार ढक्का शिविरमा बसोबास गर्ने नागरिकहरू मोबाइल र टर्च चार्ज गर्न एक किलोमिटर टाढा रहेको लालझाँडी गाउँपालिकाको चान्देउ पुग्ने गरेका छन् ।
शिविरमा विद्युत् नहुँदा बालबालिकाको पढाइ समेत प्रभावित हुने गरेको शिविरकै अर्का मोतिलाल डगौराले बताए । उनले राज्यबाट पाउनुपर्ने सेवा नपाएको र नागरिकता भएर पनि राज्यले अनागरिकजस्तो व्यवहार गरेको बताए ।
विसं. २०५८ मा संकटकालका बेला सरकारले तत्कालीन शुक्लाफाँटा आरक्षको पूर्वी क्षेत्र विस्तार गर्दा विस्थापित पीडितहरू अझै पनि जंगल, खोला नदी छेउछाउमा झुपडी बनाएर बस्दै आएका छन् ।निकुञ्जको ‘कोर एरिया’मा रहेको ढक्कालगायत जिल्लाका विभिन्न स्थानका १७ वटा शिविरमा विस्थापित बसोबास गरिरहेका छन् ।
आरक्ष पीडितहरूलाई पुनःस्थापना गर्नका लागि सरकारले पटकपटक गरी हालसम्म ३२ वटा आयोग गठन गरेको छ । तर, विस्थापितहरूको समस्या समाधान हुन सकेको छैन ।