काठमाडौँ । अफ्रिकी राष्ट्र इथोपियाको राजधानी एडिस अबाबामा ३५ दिने प्रशिक्षण लिनका लागि नेपाली धाविका सन्तोषी श्रेष्ठ आइतबार प्रस्थान गरेकी छन् ।
१३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता धाविका सन्तोषीलाई आइतबार बिदाइ गरिएको हो। इथोपिया प्रस्तान गरेकी सन्तोषीलाई आइतबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटी (एनओसी) को महासचिव तथा एनआरएस स्पोटर्स फाउन्डेसनका फाउन्डर नीलेन्द्रराज श्रेष्ठ, प्रशिक्षक रघु वन्तले एक कार्यक्रमका बीच बिदाइ गरेका हुन्।

ग्लोबल स्पोटर्स कम्युनिकेसनको छात्रवृत्ति, एनआरएनए स्पोटर्स फाउन्डेसनको पहलमा सन्तोषीले इथोपियामा प्रशिक्षणको अवसर पाएकी हुन्।

सन्तोषी इयर्ली ट्रस्टको आर्थिक सहयोग र ग्लोबल स्पोर्ट्स एथलेटिक्स खेलाडीको व्यवस्थापनमा प्रशिक्षणमा गएकी हुन् । बिदाई कार्यक्रमकै बीच सन्तोषीलाई नेपाल भेटनरी एसोसिएसनले ५० हजार नगद आर्थिक सहयोग गरेको छ।

जिएससी र अवसर
ग्लोबल स्पोर्ट्स कम्युनिकेसन (जिएससी) आफैंमा अन्तर्राष्ट्रिय जगतमा एथलेटिक्स खेलाडीको वृहत् सपना हो। विश्व रेकर्ड कायम गरेका अधिकांश खेलाडीहरु यसै संस्थाका उपज हुन् (म्याराथन, हाफ म्याराथन, १० हजार, ५ हजार लगायत विभिन्न इभेन्टमा)। यसले खेलाडीको प्रशिक्षण, प्रायोजन, व्यवस्थापनदेखि नेदरल्याण्ड नेसन्स् (एनएन)मार्फत नेदरल्याण्ड र अन्य विभिन्न देशमा विभिन्न प्रतिष्ठित खेल प्रतियोगिताहरु आयोजना गर्दै आएको छ।
नेदरल्याण्डमा केन्द्रिय कार्यालय रहेको यस ग्लोबल स्पोर्ट्स कम्युनिकेसनले करिब एक वर्षदेखि श्रेष्ठको खेललाई निगरानी र प्रशिक्षण सुपरभाइज गरिरहेको थियो। यसबीचमा प्रतिष्ठित टर्कीको स्तानबुल म्याराथनमा जिएससीकै निगरानी र प्रायोजनमा उनले सहभागी हुने अवसर पाएकी थिइन्।
यसै क्रममा अन्ततः जिएससीले विश्वकै उत्कृष्ट खेलाडी तयार पारिरहेको विश्वस्तरीय प्रशिक्षकको साथमा प्रशिक्षण लिनको लागि श्रेष्ठलाई अवसर प्रदान गरेको हो।
श्रेष्ठका अनुसार यो अवसर दक्षिण एसियाको एथलेटको लागि पहिलो अवसर हो भने एसियामै जापानपछिको दोस्रो अवसर हो। जिएससीमा प्रशिक्षणका लागि गएपछि श्रेष्ठले भनेकी छन्, ‘यो मेरो लागि र मेरा प्रशिक्षकहरुका लागि मात्र होइन नेपाली एथलेटिक्स र समग्र नेपाली खेलकुदको लागि नै खुशीको कुरा हो।’
तत्कालका लागि यस प्रशिक्षणको दौरानमा विश्व वरियताका टपटेन खेलाडीका साथ इथियोपियामा ३५ दिन प्रशिक्षणमा सहभागी हुने र त्यहाँबाट अर्को केही महिनाको लागि नेदरल्याण्ड र बेल्जियममा प्रशिक्षण, थेरापी तथा खेल प्रतियोगितामा सहभागिताको समयतालिका जिएससीले तय गरेको श्रेष्ठले जानकारी दिएकी छन्।
उनले भनेकी छन्, ‘यस प्रशिक्षणको क्रममा म आफ्नो खेलमा अझै सक्षमता प्रदर्शन गर्न हदैसम्मको उद्धत हुने नै छु। आउँदो एसियाली खेलको साथै एथलेटिक्सका विश्व प्रतिष्ठित खेलहरुमा बलियोगरी उपस्थित हुने म एक नेपाली पब्लिक खेलाडीको लक्ष्य हुनेछ। यस अवसर मैले अवसर पाउनु मात्र होइन, यो अवसरले नेपाली एथलेटिक्सको व्यावसासिकताको अन्तर्राष्ट्रिय अनुभव पनि हुनेछ भन्ने लागेको छ। जसले अरु ढोकाहरु खोल्न अवश्य सघाउन फलदायी हुनेछ भन्ने विश्वास लिएको छु।’