बुधबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र बिद्रोही नेता माधव कुमार नेपाल वार्तामा बसे। लामो संवादहिनतापछी फेरी एक पटक पार्टी मिलाउन बसेको वार्तालाई सबैले महत्वका साथ लिए।
पार्टीलाई फुटबाट र सरकारलाई ढल्नबाट जोगाउन हेतु बसिएको बैठकको सर्वत्र चर्चा छ। तर, सामाजिक सञ्जालहरुमा अहिले प्लेट र भरिएको बास्केट (टोकरी) को चर्चा पनि खुबै चलिरहेको छ।
वार्ताको क्रममा ओली र नेपालको एउटा तस्विर बाहिरियो। तस्विर काठमाडौंको एक पाँच तारे होटलको आलिशान कोठाभित्रको हो। प्रधानमन्त्रीको निजी सचिवालयमार्फत बाहिरिएको तस्विरमा ओली र नेपाल दुई जना छन्।
ओली मुसुक्क मुस्कुराइरहेका छन्, नेपाल गजक्क परेर बसेका छन्। दुबैको अगाडी एक–एक वटा टेबुल छ।
ओलीको अगाडीको टेबुलमा स्यानिटाइजरको बोटल छ, टिस्यु बक्स छ, अनि ठम्याउन नसकिने केहि अन्य समानहरु पनि छन्। सँगै छ एउटा बास्केट – जसमा विभिन्न फलफुलहरु देखिन्छ।
यता नेपालको अगाडीको टेबुलमा पनि स्यानिटाइजरको बोटल छ, टिस्यु बक्स छ, फुलदानी पनि छ। अनि सँगै छ एउटा खाली प्लेट।
ओलीको अगाडी रहेको भरि बास्केट र नेपालको अगाडी रहेको खाली प्लेटलाई एमालेभित्रको बिवादसँग जोडेर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले व्यंग्य गरिरहेका छन्।
सामाजिक सञ्जालमा कोहि अध्यक्षमाथी खनिएका छन् भने कोहि नेता नेपालमाथि कटाक्ष गरिरहेका छन्।
बैठकमा भएको पार्टीभित्र शक्ति बाँडफाँटको कुराप्रति व्यंग्य गर्दै पत्रकार बिनु सुवेदी ट्वीटरमा लेख्छिन्, ‘एकातिर खाली प्लेट, अर्कातिर टन्नै फलफुल। कसरी हुन्छ त पावर शेयरिङ?’
बिनुको ट्वीटमा कमेन्ट गर्दै एडभोकेट नामका प्रयोगकर्ता ओलीतर्फ सोझिँदै लेख्छन्, ‘बा को एक्लै खाने बानिले त बिगार्यो सबथोक।’ उनले पार्टीमा ओलीले सबै शक्ति आफुँमा राखेर नेपाललगायतलाई केहि नदिएको भन्नेतर्फ संकेत गरे।
अर्का प्रयोगकर्ता पराशर माधव नेपालप्रति लक्षित गर्दै लेख्छन्, ‘प्लेट त छ। खाइ भ्याएछन्! हन्तकाले भएर त समस्या आएको।’ माधव कुमार नेपालले आफ्नो भागको सकेर अरुको भाग ताक्दा समस्या आएको बुझाई हो सायद पराशरको।
केहि प्रयोगकर्ताले यसलाई सकरात्मक रुपमा हेर्दै शक्ति बाँडफाँटको लागि सुझाव पनि दिएका छन्।
बद्री कुमार नामका ट्वीटर प्रयोगकर्ता लेख्छन्, ‘एकातिर फुल छ र अर्कोतिर फलफुल रहेछ। फल हुनेले फुल हुनेलाई फल दिने र फुल हुनेले अर्कोलाई फुल नै दिने यसो गरे कसो होला?