नेकपा एमालेको विवाद समाधान गर्न गठन गरिएको कार्यदलको बैठक आज पनि बस्दैछ । बैठक बिहीवार बिहान ११ बजे सिंहदरवारमा बस्नेछ ।
आजको बैठकले एमाले विवाद टुंगोमा पुर्याउने कार्यदलका सदस्यहरूको दाबी छ ।
विवाद रहेका सबै विषयमा सहमति भइसकेको र त्यसलाई आज टुंगोमा पुर्याउने तयारीमा कार्यदल छ ।
कार्यदलको बैठकअघि ओली समूहका नेता विष्णु पौडेल र नेपाल समूहका नेता भीम रावल वार्तामा बसेका छन् ।
सहमति भएका विषयमा छलफल गर्न बुधवार राति एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको थियो ।

गत जेठ २ गते गठन गरिएको कार्यदल बीचमा निष्क्रिय भएको थियो । असार २० गते ओली र वरिष्ठ नेता नेपाल पक्षका नेता रावलबीच भेटवार्ता भएको भोलिपल्टदेखि नै कार्यदल पुनः सक्रिय भएको छ । कार्यदलको बैठक सोमबादेखि लगातार बस्दै आइरहेको छ ।
कार्यदलमा एमाले संस्थापन पक्षबाट संयोजक सुवास नेम्वाङसहित, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् भने नेपाल पक्षबाट नेताहरु संयोजक रावल, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।