नेकपा एमालेमा देखिएको विवाद सहमति नजिक पुगेको । विवाद समाधान कार्यदलका सदस्यका अनुसार विवाद भोलि बिहीबारसम्म टुंगो लगाउने तयारी छ ।
वार्ता टोलीका सदस्य नेता प्रदीप ज्ञवालीले जारी विवाद टुंग्याउन बुधबार बसेको कार्यदलको बैठक निष्कर्षउन्मुख भएको बताए ।
ज्ञवालीले बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै विवाद समाधानको प्रयासस्वरुप अघि बढिरहेको जानकार दिए । उनले भोलिसम्म टुंगो लगाउने प्रयास भएको बताए । नेताहरुलाई पनि छलफलका बारेमा जानकारी गराइएको छ ।
एमालेभित्रको विवाद मिलाउन पछिल्लो केही दिनदेखि अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपाल दुवै पक्षका नेता लागिपरेका छन् ।
एमालेका सबै संरचनालाई जेठ २ अघिको अवस्थामा फर्काउने र नेकपाकालीन कमिटी तथा व्यक्तिहरुसहितको पार्टी एकता कायम गर्ने सन्दर्भमा छलफल केन्द्रित छ ।
गत जेठ २ गते गठन गरिएको कार्यदल बीचमा निष्क्रिय भएको थियो । असार २० गते एमाले अध्यक्ष ओली र वरिष्ठ नेपाल पक्षका नेता तथा उपाध्यक्ष भीम रावलबीच भेटवार्ता भएको भोलिपल्टदेखि नै कार्यदल पुनः सक्रिय भएको थियो । कार्यदलको बैठक सोमबार र मंगलबार पनि बसेको थियो ।
कार्यदलमा एमाले संस्थापन पक्षबाट संयोजक सुवास नेम्वाङसहित, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् भने नेपाल पक्षबाट नेताहरु संयोजक रावल, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।